काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ।
स्वास्थ्य बिमा ऐन, २०७४ को दफा २० मा बोर्ड कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्नुपर्ने उल्लेख छ।
सोही बमोजिम कार्यकारी निर्देशक सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान सूचना प्रकाशित गरेको हो।
मन्त्रालयले बिमा बोर्डको कार्यकारी निर्देशक पदका लागि भदौ २७ गते (आज) सूचना जारी गर्दै १५ दिनभित्र दरखास्त दिन सकिने जनाएको छ।
अर्थशास्त्र, व्यवस्थापन,कानून, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धि विषयमा कम्तिमा स्नातकोत्तर गरी १० वर्षको अनुभव भएको व्यक्तिले ईच्छुक व्यक्तिले दरखास्त दिन सक्ने छन्।
स्वास्थ्य बिमा बोर्डका तत्कालिन कार्यकारी निर्देशक रहेका रमेशकुमार पोखरेलले असार १७ गते मा राजिनामा दिएपछि सो पद रिक्त छ। हाल सहसचिव डा राधिका थपलियालाई कामचलाउ निर्देशकको रुपमा मन्त्रालयले जिम्मेवारी दिएको छ।
४० देखि ६५ बर्ष ननाघेको नेपाली नागरिक जो कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने छ। साथै, भष्ट्रचार, जवरजस्ती करणी,मानव बेचविखन तथा ओसारपसार, लागू औषध विक्रीवितरण तथा निकासी वा पैठारी, सम्पति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धि कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको व्यक्तिले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ।
सिफारिस समितिले दरखास्त परेका निवेदनमध्ये रीत नपुगेका निवेदर रद्द तथा अपर्याप्त दरखास्त परेमा पुनः दरखास्त आह्वान गर्न सक्ने छ।
