बुटवल- समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढेसँगै कोरोना संक्रमितलाई छिमेकी र आफन्तद्वारा फरक व्यवहार गरिएको गुनासा सार्वजनिक भइरहँदा बुटवलमा होम आइसोलेसनमा बसेर संक्रमणमुक्त भएकालाई सम्मान गर्ने गरिएको छ।
बुटवल उपमहानगरपालिका–१३ का विभिन्न टोलमा स्थानीयबासीसँगै वडाका जनप्रतिनिधि समेतले संक्रमणमुक्त भएकालाई सम्मान गर्ने गरेका छन्। उक्त वडाको भानुपथमा कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेर निस्किएका एकै परिवारका तीन जनालाई शनिबार पुष्पगुच्छासहित टोलबासीले सम्मान गरेका हुन्।
भानुपथ निवासी बुटवल उपमहानगरपालिकाका आइटी इन्जिनीयर विकेक भुसाल, उनको एक महिनाको छोरा र सँगै बस्ने भान्जीसहित परिवारलाई वडा जनप्रतिनिधि वेदप्रसाद गैरे, आमा समूह अध्यक्ष गिरा बराललगायत टोलबासीले शनिबार पुष्पगुच्छा प्रदान गरी कोरोना जितेकामा नगरका तर्फबाट बधाई तथा शुभकामना दिएका छन्। कोरोना पुष्टि भएसँगै उनीहरु घरमै आइसोलेसनमा बसेर शनिबार २१ औं दिनमा आइसोलेसनमुक्त भएका छन्।
सो अवसरमा आइसोलेसनमा रहँदासमेत टोलका अगुवा तथा छिमेकीबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको कामना गरेको भन्दै इन्जिनीयर भुसालले सबैप्रति आभार व्यक्त गरे। कोरोना भाइरस संक्रमित भई होम आइसोलेसनमा बसेर निस्किएका भुसालको परिवारलाई डिस्चार्ज पत्र प्रदान गर्दै जनप्रतिनिधि गैरेले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गरे। रासस