विश्व प्राथमिक उपचार दिवस
प्रेचन थपलिया
दुर्घटना आकस्मिक रूपमा हुन्छ। दुर्घटना भइसकेपछि हामी आत्तिएर अस्पताल पुग्ने वा स्वास्थ्यकर्मीलाई घाइते भएकै ठाउँसम्म बोलाउने कुरा मात्र सोच्छौँ। तर सबै परिस्थितिमा तत्काल डाक्टर तथा स्वास्थ्यकर्मी बोलाउन र अस्पताल पुग्न सम्भव नहुन पनि सक्छ। यस्तो बेलामा घाइतेको ज्यान बचाउन तथा थप जटिलता बढ्न नदिन प्राथमिक उपचारको ठूलो महत्त्व हुन्छ।
प्राथमिक उपचार भन्नाले कुनै पनि आपत्कालीन अवस्थामा बिरामी अथवा घाइतेलाई स्वास्थ्य संस्था वा अस्पतालसम्म पुग्नुभन्दा अगाडि गरिने प्रथम उपचार हो।
दुर्घटना आकस्मिक र अप्रिय हुन्छन्। त्यसैले समयमै अस्पताल पुग्नुअघि तुरुन्तै र सही प्राथमिक उपचार दिन सकियो भने दुर्घटनाबाट आई पर्ने शारीरिक जोखिम र मानसिक क्षतिलाई न्यूनीकरण गर्नका साथै मृत्युबाट रोक्नसमेत सकिन्छ।
दुर्घटना कुनै पनि अवस्थामा हुनसक्छ। जहाँ पनि, जहिले पनि, जसरी पनि। यस्ता संभावित दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्नु प्राथमिक उपचारको उद्देश्य हो।
कुनैबेला घरमा सामग्रीहरु झरेर चोट लाग्न सक्छ, तरकारी काट्दा हातमा काट्न सक्छ वा आगोले पोल्न पनि सक्छ। कहिले हामी भर्याङ तथा बाथरुममा चिप्लन सक्छौं। कहिले कुकुरले टोक्न सक्छ। कहिले सर्पले डस्न सक्छ। यस्ता यावत् अप्ठ्याराबाट बच्न प्राथमिक उपचारको आवश्यकता हुन्छ। जसले हामीलाई दुर्घटनामा परेका अन्जानदेखि आफ्न्तसम्मको जीवन जोगाउन सक्षम बनाउँछ।
प्राथमिक उपचार गर्दा स्वास्थ्यकर्मी नै हुनुपर्छ भन्ने छैन। जोकोहीले पनि प्राथमिक उपचार दिन मिल्छ तर त्यस्कालागि हामीले आदारभूत जीवनरक्षाका सिपहरू जान्न जरुरी हुन्छ। जस्तै: प्राथमिक उपचार (First Aid) बक्समा के राख्ने, सिपिआर कसरी गर्ने (कार्डियोपल्मोनरी रिसससिटेसन (सिपिआर) उद्देश्य काम गर्न छोडेको मुटुलाई जगाउने हो), अचेत घाइतेलाई कसरी ध्यान दिने, चोटपटक लाग्दा, पानीमा डुब्दा, आगोले पोल्दा, विष सेवन गर्दा, रक्तश्राव हुँदा के गर्ने, त्यसलाई कसरी रोक्ने र न्यूनीकरण कसरी गर्ने भन्ने कुराको जानकारी प्राथमिक उपचार दिने व्यक्तिले जान्न जरुरी हुन्छ।
प्राथमिक उपचारका उदेश्यहरू:
१) घाइतेको जीवन बचाउन सहयोग गर्नु/अवस्था बिग्रिन नदिनु,
२) अन्य सङ्क्रमणको जोखिमबाट बचाउनु
३) उचित उपचारका लागि सम्बन्धित स्थान ल्याउनु
प्राथमिक उपचार दिने व्यक्तिले ध्यान दिनु पर्ने कुराहरू:
१) सकेसम्म घटनास्थलमा चाँडो पुग्ने, उपचार गर्ने व्यक्तिले सुरुमा आफ्नो सुरक्षामा पहिलो प्राथमिकता दिनु पर्दछ। आफू सुरक्षित हुने गरी नजिक रहेको श्रोत र साधनको प्रयोग गरी घाइतेको अवस्थाको परीक्षण गरेर प्राथमिक उपचार सुरु गर्नु पर्दछ।
२) पहिलो कदममा घाइते बाटोमा पल्टिराखेको छ भने पीडित व्यक्तिको पहिचान गर्नु पर्दछ। ठूलो दुर्घटनामा परेका मानिसको नजिक पुगेर श्वासप्रश्वास छ/छैन हेर्नुपर्दछ। बिरामीलाई बोलाउने कोसिस गर्नु पर्दछ। प्राथमिक उपचार गर्ने व्यक्तिले ABCDE लाई ध्यानमा राखेर प्राथमिक उपचार गर्नुपर्छ ।
• A–Airway (श्वासनली), B–Breathing (श्वासप्रश्वास), C–Circulation (रक्तसञ्चार), D–Deformity (चोटपटक), E–Environment (वातावरण)।
बिरामीले सास फेरेको छैन भने ३ देखि ४ मिनेटसम्म अक्सिजनको कमीले ब्रेन डेड हुन सक्छ। यस्तो अवस्थामा घाइतेलाई कृत्रिम श्वासप्रश्वास निरन्तर रूपमा दिनु पर्दछ।
३) उपचार दिने व्यक्ति एक्लै छ भने अन्य व्यक्तिको सहायता लिनु पर्दछ र तुरुन्त एम्बुलेन्स र पुलिस चौकीमा खबर गर्नु पर्दछ। घाइतेलाई भिडभाडबाट ल्याएर शान्त ठाउँमा राख्नु पर्छ। लगाएको कपडा साघुँरो छ भने हल्का लुज गर्नुपर्छ। घाइतेको घाँटीमा र नाडीमा ढुकढुकी छाम्दा सुनिएन अथवा महसुस गर्न सकिएन भने CPR दिनु पर्दछ। CPR गर्दा व्यक्तिको चिउँडो वा अनुहार माथि हुने गरि राख्नु पर्दछ। आफ्नो एउटा हात पिडितको छातिको बिच भागमा (sterum)र अर्को हात त्यही हात माथि पर्ने गरी राख्नु पर्दछ। त्यसपछि घाइतेको छातीमा दबाब दिनु पर्छ। यस्तो दबाब १ मिनेटमा १०० पटकसम्म दोहोर्याउनु पर्छ। CPR दिँदै गर्दा बेलाबेलामा कृत्रिम श्वास पनि आफ्नो मुखले दिनु पर्दछ। यो प्रक्रिया ३ देखि ४ पटकसम्म दोहोर्याउन पनि सकिन्छ। यो बेलामा आफ्न्तलाई सान्त्वना दिनु पर्छ।
४) घाइतेलाई अस्पताल पुर्याउँदा न्यानो र सजिलो बनाएर राख्नुपर्छ र बिरामीलाई अनावश्यक रूपमा चलाई राख्नु हुँदैन। जसले प्राथमिक उपचार दिएको छ उसले सम्पूर्ण घटनास्थलको विवरण र आफुले गरेको कामको जानकारी अस्पताल पुगिसकेपछि पनि स्वास्थ्यकर्मीलाई दिनुपर्छ।
यो बाहेक सामान्य घाउ, चोटपटक लागेको छ भने हामीले घरमै प्राथमिक उपचार किट बक्स राखेर पनि आफैले सजिलैसँग प्राथमिक उपचार गर्न सक्छौं। आकस्मिक अवस्थामा प्रयोग गरिने प्राथमिक उपचार किट बक्स सजिलै खोल्न र प्रयोग गर्न सकिने गरी सबैले देख्ने ठाउँमा हुनुपर्छ तर बच्चाहरूले नभेट्ने ठाउँमा राख्न पर्छ।
उक्त किटमा राखिएका सामाग्री कसरी प्रयोग गर्ने र यसको प्रयोगले कसरी समस्या कम गर्न सकिन्छ भन्ने कुरा स्पष्ट उल्लेख गरेको हुनु पर्दछ।
प्राथमिक उपचार किट बक्सलाई हावा नपस्ने गरी खुल्ला अथवा चिसो ठाउँमा राख्नु पर्दछ। यसमा चाहिने सामग्रीहरू सबै राखेको हुनुपर्छ जस्तैः सफा कपास, ब्यान्डेज, कैँची, दुई जोडी मेडिकल पन्जा, घाउमा लगाउने एन्टिसेप्टिक क्रिम, साबुन, बेटाडिन, टेप, घाउमा अड्किएका टुक्रा निकाल्नको लागि सफा चिम्टी, जीवनजल, सुरक्षा वस्त्र, आकस्मिक उपचारको किताब, समस्या पर्दा चाहिने केही पैसा, अन्य केही सामग्री र केही औषधि राखेको हुनु पर्दछ।
नेपालमा यातायातको सुविधा, स्वास्थ्य संस्था र सामग्री, दक्ष जनशक्ति र शिक्षाको पहुँच सबै ठाउँमा नपुगेको पनि हुन सक्छ। कतै सेवा सुविधा नभएर, कतै ज्ञान नभएर र कतै पैसा भएर पनि उपचारबाट बन्चित भएको उदाहरण थुप्रै छन्।
त्यसैले हरेक व्यक्तिलाई प्राथमिक उपचारको जानकारी भयो भने सानोतिनो दुर्घटनामा पर्दा पनि अस्पताल नै पुर्याउन नपाएर ज्यान गुमाउन पर्यो भन्ने कुरामा पछुतो हुँदैन। दुर्घटना अप्रत्याशित र आकस्मिक हुन्छन्। प्राथमिक उपचारको ज्ञानले आफू बस्ने समुदाय, घर र आफ्नो परिवारको स्वास्थ्यमा हुने संभावित जोखिम कम गर्न सक्छौं।