राँझा- नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकाे छ।
प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको प्लाज्मा थेरापी उपचारका विज्ञ डा खगेन्द्रजङ्ग शाहले बताए।
भेरी अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो बिरामीमा सफलता पाएको छ। प्लाज्मा विधि सफल भएपछि अस्पतालले अन्य सङ्क्रमितलाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ।
उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भेरी अस्पतालमा भर्ना भएका शारदा नगरपालिका–६, सल्यानका २९ वर्षीय प्रवीण केसीमा प्लाज्मा थेरापी उपचार विधि सफल भएको हो।
केसीलाई १२ भदौमा भेरी अस्पतालमा भर्ना गरिएको थियो। कोरोनाको लक्षण देखिएपछि उनको कोरोना जाँच गर्दा भदौ १३ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।
निमोनिया भई स्वास्थ्य अवस्था झनझन बिग्रिँदै गएपछि उनको प्लाज्मा थेरापीबाट उपचार गरिएको हो । केसी निको भएर आइतबार घर डिस्चार्ज भएका छन् ।
कोरोना भाइरस सङ्क्रमितका कारण मृत्यु नजिक पुगेका बिरामी प्लाज्मा थेरापी उपचार विधिबाट निको भएर घर फर्किँदा उपचारमा संलग्न चिकित्सकदेखि प्लाज्मा दिने दातासमेत उत्साहित र खुशी देखिएका थिए।
रासस