काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आज आएको पिसिआर परीक्षणको रिपोर्टमा उनलाई संक्रमण देखिएको हो। डा गिरीलाई हालसम्म कुनै लक्षण देखिएको छैन।
कोरोना संक्रमणपछि डा गिरी होम आइसोलेसनमा बसेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई संक्रमण देखिएको जानकारी दिएका हुन्।
उनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई सचेत रहन र आवश्यकताका आधारमा परीक्षण गरी सुरक्षित रहन पनि आग्रह गरेका छन् ।
होम आइसोलेसनमा बसेका डा गिरीले प्रतिष्ठानका दैनिक कार्य त्यहीबाट गर्ने पनि बताएका छन्।
यस्तो छ फेसबुकमा उनको सन्देश
आदरणीय सम्पुर्ण शुभचिन्तकहरु,
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा सम्पुर्ण सुरक्षा उपायहरु अपनाउँदा अपनाउँदै साथै दुई हप्ताको अन्तरालमा नियमित परिक्षण गर्दै गर्दा पनि अहिले साझँ चिकित्सक मार्फत म कोरोना संक्रमीत भएको पुष्टि भएको छ।
प्रतिष्ठानले कोरोना विशेष लेभल ३ अस्पताल मार्फत कोरोनाका लागि स्वास्थ्य सेवा प्रदान गरिरहेको र दैनिक आईपर्ने विभिन्न संस्थागत समास्याहरुको समाधान, भावी दिनमा गरिने कार्यहरुको योजना रणनीति निर्माण गर्दै दैनिक कार्यालयकै काममा रहेको बखत भएको यो संक्रमणबाट हतोत्साहित नभई आम जनस्वास्थ्यलाई मध्यनजर गर्दै म हाल आफ्नै निवासमा लक्षणविहिन अवस्थामा आईसोलेसनमा सुरक्षित साथ बसिरहेको छु।
प्रतिष्ठानका दैनिक कार्यहरुका यहीँबाट संचालित हुनेछन् भने तत्काल आईपर्ने समस्याहरु मेरो सचिवालय मार्फत म सँगको समन्व्यमा आवश्यक कार्यहरु गरिने विश्वास दिलाउन चाहन्छु।
म संग सम्पर्कमा आउनु भएका सम्पुर्ण महानुभावहरुलाई आफ्नो परिक्षण गर्नुभइ सजगता अपनाउनु हुन अनुरोध गर्दछु।
प्राडा ज्ञानेन्द्र गिरी
उपकुलपति
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान