काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्।
विश्व विरामी सुरक्षा दिवस २०२० को अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानको लागि आवाज उठाउँदै आएका व्यक्ति तथा नागरिक समाजलाई धन्यवाद दिदै थप सुरक्षित र सम्मानपूर्ण वातावरण बनाउन सबैमा आग्रह गरेका छन्।
हरेक सेप्टेम्बर १७ तारिखमा मनाइने यो दिवसको यस वर्षको नारा ‘सुरक्षित स्वास्थ्यकर्मी स् सुरक्षित विरामी’ रहेको छ। नेपालमा कोरोना सङ्क्रमितमध्ये करिब ७२ प्रतिशत निको भइसकेका र ३७९ जनाले ज्यान गुमाईसकेका उल्लेख गर्दै मन्त्री ढकालले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
“सङ्क्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनु पर्ने विश्वव्यापी मान्यता र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन आम जनसमुदायलाई आव्हान गर्दछु।” सन्देशमा भनिएको छ, “स्वास्थ्य संस्थामा हुने सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा आफ्नो दक्षता र सीपको उच्चतम प्रयोग गरी खटिन स्वास्थ्यकर्मीलाई आव्हान गर्दछु।”
उनले बिरामी, स्वास्थ्यकर्मी र जनसमुदायको सुरक्षाको लागि स्वास्थ्य संस्था भित्र र समुदायमा अपनाउनुपर्ने सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि तोकिएको मापदण्ड र विधिलाई पालणा गर्न र गराउन स्वास्थ्यकर्मीलगायत सबैमा अनुरोध आव्हान गरेका छन्। रासस