प्युठान- कोरोना महामारीको उच्च जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जिल्लामा पाँच थान भेन्टिलेटर प्रदान गरेका छन्।
मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा मन्त्री ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपति तथा भिंग्रृ प्राथमिक स्वास्थ्य केन्द्रका डा राजेन्द्र पौडेललाई पाँच थान भेन्टिलेटर र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
प्युठान जिल्लामा अहिलेसम्म कोरोना भाइरसको उपचारका लागि भेन्टिलेटर उपलब्ध नभइरहेका बेला कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्युठान जिल्लाका लागि केही सहज होस भनेर भेन्टिलेटरसहित स्वास्थ्य सामग्री प्रदान गरेको प्युठान नगरपालिकाका मेयर कक्षपतिले जानकारी दिए।
जिल्लाका लागि पाँच थान भेन्टिलेटरसहित तीन हजार सर्जिकल मास्क, २७० थान एन९५ मास्क, १० थान थर्मलगन र एक हजार थान ग्लोभ्स लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उनले जानकारी दिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको पहलमा प्युठानमा उपलब्ध गराइएका पाँच वटा भेन्टिलेटरमध्ये दुई वटा प्युठान जिल्ला अस्पतालमा, दुई वटा भिंग्रृ प्राथमिक स्वास्थ्य केन्द्रमा र एउटा खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा जडानका गर्नका लागि हस्तान्तरण गरिएको बताइएको छ।