काठमाडौं- नेपाल आयुर्वेद चिकित्सक संघले कोरोना संक्रमण भएका व्यक्तिलाई कारण देखाई आयुर्वेद जडिबुटी औषधिहरु खान नदिएको गुनासो आएको भन्दै आत्पति जनाएको छ।
कोरोना संक्रमण भई विभिन्न अस्पताल तथा आइसोलेसनमा बसेका बिरामीलाई विविध कारण देखाई आयुर्वेद औषधि खान नदिएको भन्दै संघले ध्यानाकर्षण भएको जनाएको हो।
संघले आज प्रेस विज्ञप्ति जारी गर्दै अस्पताल तथा आइसोलेसनमा रहेका बिरामीको उपचार छनौट गर्न पाउने आधारभूत मानव अधिकार रक्षा गर्न सरकारसँग आग्रह गरेको छ।
‘आयुर्वेद जडिबुटी औषधि आयुर्वेद चिकित्सकको रेखदेखमा खान पाउने व्यवस्था सुनिश्चित गरि उपचार पाउने संविधान प्रदत्त मौलिक हक र चाहेको उपचार लिन पाउने आधारभूत मानवअधिकारको रक्षा गर्न समेत अनुरोध छ’संघले जारी विज्ञप्तिमा उल्लेख छ।
आयुर्वेद विधिबारे राष्ट्रिय र प्रादेशिक स्तरका रेडियो, टेलिभिजन, पत्र पत्रिका, अनलाइनआदि मार्फत प्रयाप्त सहि सूचना जनता सामु पुर्याउने व्यवस्था मिलाउन पनि संघले सरकारलाई आग्रह गरेको छ।
