डडेल्धुरा- सुदूरपश्चिम प्रदेशका स्थानीय तहका स्वास्थ्य संघसंस्थामा औषधि लगायतका आपुर्ति व्यवस्थापन अनलाइन प्रणालीमा जाने भएको छ।
औषधिको अभावको समस्या तथा खेर नजाउस् भने उद्देश्यका साथ सरकारले सुदूरपश्चिमका स्थानीय तहमा अनलाइन व्यवस्थापन गर्ने भएको हो। यसबाट कुन स्थानीय तह तथा स्वास्थ्य कार्यालयको स्टोरमा कति औषधी र स्वास्थ्यका अन्य समाग्री मौजात रहेको जानकारी प्राप्त गर्ने सकिने स्वास्थ्य कार्यालय डडेल्धुरा प्रमुख आशुतोष श्रेष्ठले बताए।
उनका अनुसार सरकारबाट औषधिको सप्लाइ गर्दा व्यवस्थित र प्रभावकारी बनाउन यस्तो प्रणाली गर्न लागिएको हो।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनलायले यस विषयमा ९ वटै जिल्लाका स्थानीयतहका स्वास्थ्य प्रतिनिधिहरुलाई तालिम दिन सुरु गरेको छ।
डडेल्धुरामा मंगलबार तालिमको सुरुवात भएको हो। तालिममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले यो प्रविधिवाट स्वास्थ्य क्षेत्रमा रिपोर्टीङमा राम्रो सुधार हुने र औषधि लगायतका स्वास्थ्य समाग्री अभाव नहुने बताए। उनले भने, ‘अहिले धेरै स्थानीय तहमा औषधि अभावका समाचारहरु आएका हुन्छ, त्यो स्टोरमा औषधिको मौज्दातको अवस्था थाहा नभएर हो। अब अनलाईनबाट सबै थाहा हुन्छ, अभाव हुँदैन्।’
डडेल्धुरा सदमुकाममा मंगलबारदेखि सुरु भएको तालिममा जिल्लाका सबै पालिकाबाट स्वास्थ्य शाखाका प्रमुख तथा उप प्रमुख र स्टोर किपरहरुको सहभागी भएका छन्।
प्रदेशका ८८ वटा स्थानीय तहका स्वास्थ्य प्रतिनिधिलाइ यो तालीम दिइने स्वास्थ्य निर्देशक अवस्थीले जानकारी दिए।