काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीको माग पूरा गर्न आवासिय चिकित्सकहरुले माग गरेका छन्।
त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासिय चिकित्सकले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै डा केसीको मागमा ऐक्यबद्धता जनाएका छन्।
सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले डा केसीको स्वास्थ्यस्थिति र सम्बन्धित निकायको उदासीनताले मर्माहत बनाएको उल्लेख गरेका छन्।
'वार्ताबाट माग पूरा गर्नुको सट्टा उहाँको इच्छा विपरित जोडबलका साथ दुर्व्यवहार शैलीमा उहाँलाई ट्रमा सेन्टर पुर्याउने काम भएको छ। प्राध्यापक जस्तो पाको र सम्मानीय व्यक्तिलाई गर्ने व्यवहार अपरिपक्क देखिएको छ' संयुक्त विज्ञप्तिमा भनिएको छ, 'यस्ता वेवास्तापूर्ण र गैरजिम्मेवार शैली प्रति नेपालका सम्पूर्ण रेसिडेन्टका संस्थाहरुको विरोध रहेको जनाउँदै खेद प्रकट गर्न चाहान्छौँ।'
