डा जीना सापकोटा
म बिहानको चियाको चुस्कीसँगै क्षीतिजपारिसम्मका प्राकृतिक मनोरम दृश्यहरूमा नजर दौडाउँदै प्रफुल्ल मुद्रामा अनगिन्ती सपना बुनिरहेको थिएँ। प्रकृति भित्रका सुरिला गगनचुम्बी सल्लाका बोटहरू, पूर्वाग्रह र आग्रहरहित प्रतिस्पर्धामा भड्किरहेका काला बादल र कोभिडको अत्यासलाग्दो सन्त्रासबाट मुक्त हुँदै गरेका मानिसको सामान्य चहलपहल सुरू भएको वातावरण। लाग्थ्यो पुनः यो खुसी र स्वतन्त्रता लुट्न कोरोनाको संक्रमण अरू नथपियोस्।
२०७६ जेठ ५, कर्णाली प्रदेशमा निश्चित गरिएको कोभिड—१९ को पहिलो पोजटिभ केसदेखि नै दिन दुगुना र रातलाई चौगुना साथमा लिएर कर्मपथमा हिँडेका ती दिनहरू सम्झँदै यसको अन्त्यको गन्तव्य के होला? भनी घोत्लिइरहेको थिएँ। यो युद्धको प्रस्थानदेखि अहिलेसम्म लड्दै सफलता/असफलता आफ्नै स्थानमा छन्। यी चुनौती र हरेक सेकेण्ड अपर्झट आइपरेका दायित्व पूरा गर्नुपर्दा पछाडिका कयौं कर्मशील हातहरूलार्इ सलाम गर्नैपर्छ भन्ने ठान्दछु।
कुरा २०७७ जेठ ५ गतेको हो। लगभग सबै प्रदेशमा कोभिड—१९ को संक्रमण व्यापक भइसकेको थियो तथापि कर्णाली प्रदेशमा उक्त दिनसम्म कुनै पनि संक्रमित पत्ता लागेको थिएन। तर त्यो दिन, कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमित पत्ता लागेको हुँदा उक्त केसले पूरै कर्णालीलार्इ हतास र स्तब्ध बनाइदिएको थियो। त्यो पनि प्रदेशकै मुटु दैलेख जिल्लाको दक्षिण आठबीस नगरपालिका, जहाँ सदरमुकामबाट ७/८ घण्टाको सडक मार्ग मात्र पुग्न सकिन्छ।
पहिलो केस भएका कारण पनि घर, समाजदेखि सामाजिक सञ्जाल र सम्पूर्ण देश-विदेश सबैतिर व्यापक हल्ला भइसकेको थियो। मनमा खिन्नता र एक प्रकारको भिन्नै त्रास रहँदारहँदै पनि एउटा स्वास्थ्यकर्मीका नाताले केस पोजेटिभ भयो भन्ने खबर पाउने बित्तिकै अब जानुपर्छ भन्ने मानसिकतामा हामीले सम्पूर्ण तयारी गरिसकेका थियौं किनकी हामीसँग आवश्यक उपकरण, सुरक्षा कबच सहितको आइसोलेसन अस्पताल अग्रिम तयार भइसकेको थियो, जसको निर्माणमा धेरै हातहरूको मिहिनेत उभिएको थियो।
कर्णालीको पहिलो केस, त्यसमा पनि दैलेखको भएको हुँदा र आइसोलेसन अस्पताल पनि दैलेखमा निर्माण भएको हुँदा आइसोलेसनमा ल्याउने उद्देश्यले हाम्रै टिम उक्त संक्रमितलार्इ रिसिभ गर्न जाने निर्णय भयो। मुर्दा शान्ति जस्तो र सन्नाटाबीच सबै जना एकअर्कालार्इ छुन डराइरहेको बेला हाम्रो अस्पतालका एम्बुलेन्स चालक जानका लागि पिपिई लगार्इ तयार हुनुभयो।
दिउँसो करिब १.०० बजेतिर अगाडिअगाडि एम्बुलेन्स, पछिपछि चिकित्सक सहितको स्वास्थ्यकर्मीको टिम पोजेटिभ केसलार्इ रिसिभ गर्न आठबीस नगरपालिकातर्फ लाग्यो। जेठ महिनको प्रचण्ड गर्मी, धुलाम्मे र भत्किएर कच्ची जस्तै भइसकेको सडक, ७/८ घण्टासम्म पिपिई लगाएर सवारी चलाउनुपर्दा कस्तो भयो होला हालत? मलाई त्यो बेलाको घटना सम्झँदा अझै पनि अचम्म र अनौठो लाग्छ।
त्यसपछि हाम्रो आइसोलेसनमा कोभिड—१९ केसहरू क्रमशः थपिँदै जाने क्रममा थियो। हामी आइसोलेसनसँगै रहेको सेल्टर जस्तै भवनमा रहेका थियौं। यसै क्रममा एक रात अचानक बत्ति गयो। सोलारले समेत काम गरेन। सबै बिरामी आत्तिन थालेको देखेर मैले हाम्रो सुब्बा साहेब र इलेक्ट्रिसियनलार्इ फोन गरेँ। फोन गरेको आधा घण्टामा दुवै जना आउनुभयो। सुब्बा साहेबले बिरामीलार्इ नआत्तिन सम्झाउन थाल्नुभयो र राजु (इलेक्ट्रिसियन) पिपिई लगाएर बत्ति बनाउन जानुभयो।
म अहिले सोच्छु, हामी स्वास्थ्यकर्मी मात्र होइन, हाम्रो प्रशासनको सुब्बा साहेब र राजु दाइ पनि आफ्नो कर्तव्यतर्फ निष्ठावान हुनुहुन्छ नत्र किन आवश्यक थियो राति मेरो फोन उठाउन र ज्यानको जोखिम मोलेर संक्रमित रहेको स्थानमा गर्इ काम गर्न। लाग्थ्यो मानिसलार्इ संकटका समयमा बेग्लै किसिमको ऊर्जा आउने रहेछ र खट्न प्रेरित गर्ने रहेछ।
हरेक दिन केसहरू थपिँदै गर्दा दैलेख कर्णाली प्रदेशकै रेडजोन (उच्च जोखिम) भइसकेको थियो। केसहरू बढेकोबढ्यै थिए। हामीले सोचेभन्दा धेरै भइसकेका थिए केस। यसै क्रममा एक दिन बिहानै फोन आयो। क्वारेन्टाइनबाट १५ जना पोजेटिभ केस आउँदैछन् भनेर। मैले तयारी गर्न केही समय मागें। हामीसँग त्यतिबेला न बेड नै तयारी अवस्थामा थियो न अन्य अत्यावश्यक सामान पनि। अब को गइदिने होला बेड थप गर्न र मिलाउन, ठूलो समस्या थियो। अन्ततोगत्वा सवारी चालक र इलेक्ट्रिसियन दाजुहरू पिपिई लगाएर बेड मिलाउन जानुभयो। सामानको सूची लिएर सुब्बा साब बजारतर्फ लाग्नुभयो। बेड र अन्य सामान राखिसकेपछि कार्यालय सहायक दिदी कोठा सफा गर्न जानुभयो। सबै काम सिध्याएर दिदी पिपिई धुन लाग्दै हुनुहुन्थ्यो। हाम्रो बडा भैरब दाजु (कुक) ले खाजा तयार गरी हामी र बिरामीलार्इ ल्याउनुभयो, जहाँ भोजनभन्दा भोक मिठो थियो, कसैमा केही गुनासो थिएन। यस्ता कयौं घटना र व्यक्तिहरू छन् जुन यो कागजमा लेखेर सम्भव नै छैन।
हामीलार्इ अग्रपंक्तिमा उभिएर काम गर्ने हौसला दिने वातावरण बनाउनमा धेरै अदृश्य हातहरू छन्। सोच्नु सामान्य कुरा होला तर हुनु ठूलो कुरा रहेछ। काम हो गर्नुपर्छ अझ गरेवापत पैसा आउँछ भन्ने गरिन्छ नि, ती सबै कुरा सामान्य हुँदाका अवस्था हुन्। जब ज्यानको मात्र सवाल रहन्छ, लाग्दो रहेछ “हातका मैला सुनका थैला के गर्नु धनले”। यहाँनेर यदि एम्बुलेन्स ड्राइभरले बिरामी नबोकिदिएको भए, प्लम्बरले पानीको व्यवस्था नमिलाइदिएको भए, सुब्बा साबले सामान नल्याइदिएको भए, भान्सेले खाना नपकाइदिएको भए, कार्यालय सहायकले सरसफाइ नगरिदिएको भए के हामीले मात्र महामारीको सामना गर्न सक्थ्यौं त? अवश्य सक्दैनथ्यौं।
यहाँनेर सायद सहरी क्षेत्रका लागि यो ठूलो कुरा नहोला, तर दूरदराजमा रही काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीलार्इ कयौं सामान्य तर अनौठा लाग्ने घटनाहरू पलपलमा घटिराख्छन्। कोभिड—१९ को परीक्षणका क्रममा आइसोलेसनमा बसोबास गरेका कयौं व्यक्तिलार्इ तपाइँको टेष्ट परिणाम नेगेटिभ आयो भनेर जानकारी गरायो भने उनीहरू विश्वास नै गर्दैनथे, भन्थे, “म पनि यसरी नै काम गर्छु”। हाम्रा सहकार्य र सामूहिक भावनाले संक्रमितहरूसँग पनि बेग्लै किसिमको आत्मीयता र सौहार्द्रता देख्थ्यौं। सहयोगी दाजुदिदीहरूले कहिल्यै गुनासो गर्नुभएन, उहाँहरूप्रति भेदभाव, अन्याय अनादर भएको देख्थ्यौं, हामीलार्इ सहयोग गर्नु उनीहरूलार्इ बचाउनु थियो।
यसरी ती पर्दा पछाडि रहेर हामीलार्इ अहोरात्र सेवा/सहयोग प्रदान गर्ने व्यक्तिहरू साँच्चिकै सम्माननीय र आदरणीय हुनुहुन्छ। ती सबै सहयोगी हातहरू नभइदिएको भए यो कठिन परिस्थितिमा जिम्मेवारी बहन गर्न अवश्य सम्भव हुने थिएन।
(डा सापकोटा दैलेख अस्पताल, कर्णालीमा कार्यरत छिन्।)