काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत डा गोविन्द केसीसँग भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी डा केसीसँग भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको हो। डा केसीको जीवन रक्षाका लागि संवेदनशील हुन आयोगले सरकारलाई आग्रह गरेको छ।
कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय बागमतीले अनसनस्थल देखि नै डा केसीको अनसनको बारेमा निरन्तर अनगुमन गरिरहेको आयोगले जनाएको छ।
उनको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरमा पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक पटकको अनसनका कारण रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले संक्रमणको उच्च जोखिम रहेको अनुगमन पाइएको विज्ञप्तिमा उल्लेख छ।
डा केसीसँग सरकारले विगतमा पटक पटक गरेका सम्झौता प्रति गम्भीर हुँदै उनको जीवन रक्षाका लाागि हर संभव प्रयसा गर्न आयोगको आग्रह छ। आपसी विमतिका विषयहरु वार्ता र संवादको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै आयोगले अनसनको विकल्प नरोज्न पनि डा केसीलाई आग्रह गरेको छ।