चितवन– कोरोना संक्रमणका बेला चितवनमा स्क्रबटाइफस र डेंगुका बिरामी बढेका छन्। भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेंगु देखिएको छ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका ३ सय ४५ जनाको नमूनामा ६९ जनामा स्क्रबटाइफस देखिएको हो। सोही अवधिमा ३ सय १५ जनाको परीक्षण गर्दा २४ जनामा डेंगु देखिएको छ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार सबै रोगको तथ्यांक संकलन भईरहेको छ। मुसामा हुने एकप्रकारको माइट भन्ने संक्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने व्याक्टेरियाको कारणले स्क्रब टाइफस हुने भरतपुर अस्पतालका डा महेन्द्र अग्रहरिले जानकारी दिए।
यो रोग वर्षाको समयमा देखिन्छ। उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ। यसमा विशेषरी उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने, पेट दुख्ने अग्रहरिले बताए।
यसै गरी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो मध्ये एक डेंगु हो। यसको संक्रमणमा सुरुवाती दिनमा शरीरमा रातो रातो डावर आउने, एक सय डिग्रीभन्दा वढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिनेजस्ता लक्षण देखा पर्ने डा अग्रहरिको भनाइ छ।
जिल्लाका सहरी क्षेत्रमा अहिले पानी भरिएको छ। त्यसले रोग थप बढ्न सक्ने भरतपुर अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका डा भोजराज अधिकारीले बताए। उनका अनुसार पानी सुक्दै जाँदा रोगको प्रकोप बढ्दै जाने खतरा छ । जिल्लामा हरेक वर्ष यतिवेला दुबै रोगका बिरामी वढ्ने गर्दछन्। रासस