सिओल- दुबई ट्राञ्जिट हुँदै शनिबार कोरिया फर्केका एक नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल बिदामा गई कोरिया फर्किन नपाएकामध्ये ६३ जनालाई कोरियाको केएमई ट्राभल कम्पनीले समन्वय गरेर शनिबार कोरिया ल्याएको थियो।
नेपालमा पिसिआर रिपोर्ट नेगेटिभ देखिए पनि कोरियाको ईञ्छन विमानस्थलमा आई परीक्षण गराउँदा संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिए।
शनिबार पुष्टि भएका संक्रमित सँगै कोरियामा कोरोना संक्रमित नेपालीको संख्या ८ पुगेको छ ।
कोरियामा संक्रमित ८ नेपालीमध्ये ५ जना नेपालबाट यहाँ आएको १४ दिनभित्र संक्रमण पुष्टि हुनेहरु रहेका छन्। उनीहरुले संक्रमण निको नहुँदासम्म सम्पूर्ण उपचार शुल्क आफैंले तिर्नुपर्ने बताइएको छ।
कोरिया सरकारले गत महिना ल्याएको नयाँ नियम अनुसार विदेशबाट आउने विदेशीलाई यहाँ आएको १४ दिनभित्र संक्रमण पुष्टि भएको खण्डमा सम्पूर्ण उपचार खर्च बिरामी स्वयंले तिनुपर्ने उल्लेख छ।
केएमईका सञ्चालक विनोद कुँवरले आफूहरुले सम्बन्धित अस्पतालमा पिसिआर गर्न आग्रह गर्दा सिण्डिकेट लादेको आरोप लाग्ने गरेका कारण यात्रुहरुले आफूखुसी अस्पतालमा पिसिआर परीक्षण गराएका कारण समस्या परेको दावी गरे।
शनिबार आउने संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबै यात्रुलाई थप निगरानीमा राख्न अनुरोध गरिएको कुँवरले बताए।
कोरियामा नयाँ आउने विदेशी कोरोना संक्रमितले उपचारमा चर्को शुल्क तिर्नुपर्ने भएकाले आगामी दिनमा यहाँ आउने तयारीमा रहेका नेपालीलाई नेपालबाट नै कोरोना बिमा गराई कोरिया ल्याउन पहल थालिएको कुँवरको भनाइ छ। दुवई ट्राञ्जिट भएर नै आइतबार थप ३२ जना नेपाली कोरिया आउँदै छन्।
यसअघि शुक्रबार कोरिया आउने तयारीमा रहेका २ नेपालीमा कोरोना संक्रमण देखिएपछि त्रिभुवन विमानस्थलबाट नै फिर्ता गरिएको थियो।