काठमाडौं- स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले देशभरका सबै प्रयोगशालालाई पोजिटिभ र नेगेटिभ दुबै रिर्पोट सम्बन्धित व्यक्तिलाई नै दिन निर्देशन दिएको छ।
यसअघि, मन्त्रालयले पोजिटिभ रिर्पोट इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखालाई र नेगेटिभ रिर्पोटको जानकारी सम्बन्धित व्यक्तिलाई दिने र अस्पताल ल्याउने गरेको काम गर्दै आएको थियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पहिले पोजिटिभ रिर्पोट आएका बिरामी सबैलाई स्वास्थ्य संस्था राख्ने व्यवस्था परिमार्जन भई धेरै संक्रमित होम आइसोलेसनमा राख्ने व्यवस्था गरिएकोले पोजिटिभ रिर्पोटको जानकारी पनि सम्बन्धित बिरामीलाई दिने निणर्य गरिएको बताए। अब इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले ती व्यक्तिलाई सम्पर्क गरी व्यवस्थापन गर्ने काम गर्ने मन्त्रालयले जनाएको छ।
पछिल्लो समय होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढ्दै गएको छ। आज देशभर १० हजार ६९८ जना व्यक्ति होम आइसोलेसनमा छन्।