काठमाडौं - चिकित्सा शिक्षाको स्नातकोत्तर तह ९पिजी०मा खुला तर्फको कोटा बढाउनु पर्ने लगायतका ५ बुँदे माग राख्दै चिकित्सा शिक्षा आयोगमा पुगेका डाक्टरमाथि प्रहरीले हस्तक्षेप गर्दै हातपात गरेको छ।
आयोगले लिन लागेको परीक्षामा कोटा छुट्याउने क्रममा अन्याय भएको भन्दै उनीहरु त्यसलाई संशोधन गर्नुपर्ने माग सहित आयोगमा पुगेका थिए। ज्ञापन पत्र बुझाउन पुगेका डाक्टरमाथि प्रहरीले हस्तक्षेप गर्दै हातपात गरेका हुन्।
पाँच बुँदे माग बुझाएका डाक्टर विद्यार्थीहरुलाई आयोगका उपाध्यक्षले तत्कालै संशोधनको सम्भावना नरहेको जानकारी दिएका थिए। त्यसपछि उनीहरुले आयोगको कार्यालयमा ताला लगाउन खोजेका थिए। सो क्रममा प्रहरी आएपछि विवाद सुरु भएको हो।
ज्ञापन पत्र बुझाउन पुगेका विद्यार्थीहरुले प्रहरीले आक्रमण गर्दा तीन जना घाइते भएको बताएका छन्।
उनीहरुले हाल कायम गरिएको पीजी सिटको कोटालाई संसोधन गरि खुला प्रतियोगिताबाट ७० प्रतिशत, सरकारी सेवामा कार्यरत व्यक्तिबाट २० प्रतिशत र विदेशी विद्यार्थीबाट १० प्रतिशत गर्नुपर्ने, दुर्गम क्षेत्रमा काम गरे बापतको अंकभार व्यवस्थालाई खुला कोटामा समावेश नगर्न, चिकित्सा शिक्षा नियमावलीमा सरकारी चिकित्सकको परिभाषामा भएको कुरा संशोधन गर्नुपर्ने लगायतका माग राखेका छन्।
ज्ञापन पत्र बुझाउन पुगेका चिकित्सक माथि हातपात भएपछि नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै त्यसको विरोध गरेको छ।
यस्तो छ ज्ञापनपत्र