बिराटनगर- बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पिसिआर परीक्षण सुरु गरेको छ। प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाई भईरहेको समयमा नोबेलले सर्वसुलभ मूल्यमा पीसीआर परीक्षण सुरु गरेको हो।
सरकारले आइताबर परीक्षण अनुमति दिएपछि नोबलले सोमबारबाट सेवा सुरु गरेको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति आएसँगै परीक्षण थालिएको नोबेलका सञ्चालक सुनिल शर्माले जानकारी दिए।
‘हामीले मेसिन ल्याएर ल्याब बनाई परीक्षणका लागि एक महिना अघि नै सम्पूर्ण तयारी गरेर अनुमति पर्खिरहेका थियौं’ शर्माले भने ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएपछि परीक्षण सुरु गरेका हौंं।’
कोरोना परीक्षणका लागि नोबेलले दुई वटा अत्याधुनिक अमेरीकन पीसीआर मेसिन ल्याएको जनाएको छ।
दुई वटा पिसिआर मेसिन भएकाले एक दिनमा दुई हजार स्वाब परीक्षण गर्न सकिने नोबेलका वरिष्ठ ल्याब अधिकृत गणेश कुमार सिंहले बताए। उनका अनुसार ४ देखि ६ घण्टा भित्रै रिपोर्ट दिईनेछ।
सेवा सुरु गरेसँगै नोबेलले पिसिआर परीक्षण शुल्क १ हजार ५ सय ५० रुपैयाँ तोकेको छ। नोबेलले तोकेको यो शुल्क नेपालका अरु ल्याबभन्दा सस्तो हो।
स्वास्थ्य मन्त्रालयले २ हजार भन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको छ।