काठमाडौं– स्वास्थ्य मन्त्रालयले संघ अन्तर्गतका केन्द्रीय अस्पतालहरुको संगठन तथा व्यवस्थापन सर्भे गर्ने क्रममा वीर अस्पतालको दरबन्दी संरचना तयार गर्दा स्वास्थ्य प्रयोगशालामा मेडिकल ल्याब टेक्नोलोजी समूहको ११औं तहको दरबन्दी कटौती गरेको भन्दै मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले गम्भीर आपत्ति जनाएको छ। मेलानले मेडिकल ल्याब टेक्नोलोजी समूहको ११औं तहको दरबन्दी कायम गर्न मन्त्रालयलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ।
मन्त्रालयमा आफ्ना धारणा पटकपटक राख्दै आए पनि दरबन्दी संरचनाको अन्तिम प्रस्ताव तयार पार्दा कुनै एक सेवा समूहको दबाब र प्रभावमा परी अत्यावश्यक दरबन्दी कटौती गरेको र विषय विज्ञ तथा सरोकारवालासँग कुनै छलफल समेत नगरेको मेलानका अध्यक्ष राजेन्द्र खड्काले बताएका छन्।
उनका अनुसार स्वास्थ्य प्रयोगशाला क्षेत्रको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने मेडिकल ल्याब टेक्नोलोजी समूहलाई उपेक्षा गर्दै अवैज्ञानिक र अव्यावहारिक दरबन्दी संरचना बनाइएको र यसको पछाडि सीमित समूहको गलत नियत तथा पूर्वाग्रही सोच मुख्य कारण रहेको छ।
अध्यक्ष खड्काले यस्ता विशेषज्ञको दरबन्दी कटौती गर्ने कदम जनताको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै आधुनिक प्रयोगशालाको स्थापना गर्दै जाने सरकारको नीतिविपरीत भएको बताए। यस्तो कदमले स्वास्थ्य क्षेत्रको पुनर्संरचनामै गम्भीर असर पुग्न गई अन्ततः आम जनस्वास्थ्यमाथि नै असर पुग्नसक्ने भन्दै उनले त्यसप्रति सचेत रहँदै अबिलम्व उक्त कदम सच्याई मेडिकल ल्याब टेक्नोलोजी समूहको ११औं तहको दरबन्दी कायम गर्न मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाइएकोे बताए।
स्वास्थ्य क्षेत्रको पुनर्संरचना गर्दा वैज्ञानिक र व्यावहारिक पक्षलाई ध्यानमा राखेर गर्नुपर्ने एसोसिएसनका वरिष्ठ उपाध्यक्ष देवराज गौतमले बताए। उनले मत्रालयले तयार पारेको उक्त अस्पतालको दरबन्दी सच्याई सबै सेवा समूहको उच्चतम वैज्ञानिक संरचना तयार पारी समग्र प्रयोगशालाकर्मीहरुको मनोबल उच्च बनाउन माग गरेका छन्।
एसोसिएसनका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काको नेतृत्वमा गएको टोलीले वीर अस्पतालको संरचना निर्माणमा भएको त्रुटि सच्याउँदै आगामी दिनमा त्यस्ता दरबन्दीका सवालमा सम्बन्धित संस्थाबाट प्राप्त प्रतिवेदनमाथि मन्त्रालयले विषय विज्ञ तथा सरोकारवालासँग छलफल गरेर मात्र अन्तिम प्रस्ताव तयार पार्नुपर्ने माग गरिएको मेलानका महासचिंव रेशम अधिकारीले बताए।