अछाम- अछामको कमलबजार नगरपालिकामा कोरोना भाइरस परीक्षणका लागि स्थापना गर्न लागिएको प्रयोगशाला सञ्चालनको अन्तिम तयारी भएको छ। जिल्लाको एक स्थानीय तहको पहलमा प्रयोगशाला सञ्चालनको काम ९५ प्रतिशतभन्दा बढी भइसकेको कारण अब केही दिनमै सञ्चालन हुने नगरपालिकाले जनाएको छ।
कमलबजार नगरपालिकाको पहलमा सञ्चालनमा आउन लागेको प्रयोगशाला स्थापनाका लागि पूर्वी अछामका ढकारी, तुर्माखाँद गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकाले साथ दिएका छन्।
कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनको अन्तिम चरणमा रहेको पिसिआर मेसिन तथा प्रयोगशालाको गुणस्तर लगायतका अवस्थाको बारेमा जानकारी दिन प्रदेश स्तरीय एक स्वास्थ्य टोलीले अनुगमन गरेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीको टोलीले पिसिआर मेसिनको गुणस्तर तथा सञ्चालनको तयारी र अन्य अवस्थाका बारेमा जानकारी लिएको छ।
निर्देशक डा अवस्थीले दुर्गममा पिसिआर मेसिन सञ्चालनको प्रयास गरेकोमा कमलबजार नगरलाई धन्यवाद दिएका छन्। उनले यसको सुरुवात मत्रै नभई निरन्तरतामा जोड दिनुपर्ने बताए। प्रयोगशालाको नियमित सञ्चालनका लागि जिल्लाका दस वटै स्थानीय तहले साथ दिनुपर्ने उनको भनाइ छ।
पिसिआर मेसिन सञ्चालनका लागि प्रयोगशालामा आवश्यक पर्ने सहयोग प्रदेशको तर्फबाट गर्न आफू तयार रहेको समेत उनले बताए। अनुगमन टोलीमा सहभागी सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले मेसिनको परीक्षणका लागि पहिले टेस्ट भएका नेगेटिभ र पोजेटिभ नमुना जाँच गरिने बताए।
असोज १५ गतेसम्ममा कमलबजारको प्रयोगशालामा पिसिआर जाँच भएको नमुना अन्य प्रयोगशालामा जाँच गरी अन्तिम रुप दिने तयारी भइरहेको प्रमुख शाहीको भनाइ छ।
अहिलेको कठिन परिस्थितिमा पिसिआर मेसिन सञ्चालनको लागि ठूलो चुनौती भएको भन्दै नगरप्रमुख ओमप्रकाश बिष्टले आफूले अप्ठेरो परिस्थितिका बाबजुत पनि काम अघि बढाएको बताए। विविध कारणबस केही मेसिन सञ्चालन गर्न ढिलाइ भए पनि अब छिट्टै अछामी जनताको पिसिआर कमलबजारबाट हुने उनको विश्वास छ। कमलबजारमा पिसिआर मेसिन सञ्चालनमा आएपछि कमलबजार सहित जिल्लाको समग्र कोराना परीक्षणको दायरा फराकिलो हुने विश्वास समेत नगर प्रमुख बिष्टको छ।
तर, यता बयालपाटा अस्पतालमा साउन महिना भित्रै पिसिआर परीक्षणका लागि मेसिन जडान सहित प्रयोगशाला सञ्चालनमा ल्याउने प्रतिबद्धता गरिए पनि असोज महिनासम्म पनि कुनै सुनुवाइ भएको छैन। सुदूरपश्चिम प्रदेश सरकारका कानुन तथा मामिला मन्त्री प्रकाश शाहले अछाम र बाजुरालाई लक्षित गर्दै बयालापाटा अस्पतालमा पिसिआर मेसिन सञ्चालन गरिने उद्घोष गरेका थिए।
उनले अस्पताल भ्रमणका क्रममा प्रदेश सरकारले बयालपाटा अस्पतालमा पिसिआर मेसिनको लागि सबै तयारी भइसकेकाले साउन महिनाभित्रै सञ्चालन गरिने प्रतिबद्धता जनाएका थिए।