काठमाडौं- सरकारी चिकित्सक संघले कोरोना भइरसको संक्रमणका कारण मृत्यु भएका डा हरी सापकोटालाई सहिद घोषणा गर्न माग गरेको छ।
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै डा सापकोटालाई सहिद घोषणा गर्दै उनको परिवारलाई सहिद परवार सरहको सुविधा तथा तत्कालका लागि एक करोड राहत रकम उपलब्ध गराउन माग गरेको हो।
कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा हरी प्रसाद सापकोटाको बिहीबार दिउसो भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। ११ औं तहमा कार्यरत डा सापकोटालाई भदौ २९ गते कोरोना पोजिटिभ देखिएको थियो। सुर्खेतमै उपचार भइरहेको भएपनि श्वासप्रवासमा समस्या देखिएपछि असोज १ गते भेरी अस्पताल पुर्याइएको थियो।
कोरोना संक्रमणपछि गम्भीर अवस्थामा पुगेका डा सापकोटालाई रेम्डिसिभिर र प्लाज्मा थेरापी गरिएको थियो। तर उपचारका क्रममा बिहीबार दिउँसो ३ बजेर ३० मिनेट जाँदा कार्डियक अरेस्ट भई मृत्यु भएको अस्पतालले जनाएको छ।
डा सापकोटा कोरोना संक्रमणपछि मृत्यु हुने नेपालको पहिलो चिकित्सक हुन्।
सरकारी चिकित्सक संघले डा सापकोटालाई सहिद घोषणाको मागसहित चिकित्सक लगायत स्वास्थ्यकर्मीहरू र अग्रपंक्तीमा खट्ने सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मीलाई तत्काल यथेष्ट मात्रामा गुणस्तरीय मास्क, फेस-सिल्ड, सेनिटाइजर लगायत पिपिइ उपलब्ध गराउनु पर्ने, घोषणा गरेको सात महिना र रकम निकासा भएको समाचार सुनिएको तीन महिना भइसक्दा समेत चिकित्सक लगायत स्वास्थ्यकर्मीहरूले नपाएको कोभीड प्रोत्साहन भत्ता तत्काल कर्मचारीलाई सहजै उपलब्ध गराउनु पर्ने लगायतका माग पनि राखेको छ।
संघले राज्यको अकर्मण्यता प्रति निकै निराश भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।