काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका अधिकांशलाई कोरोना पोजेटिभ देखिएपछि सबै औपचारिक तथा अनौपचारिक भेटघाट बन्द गरिएको छ।
प्रधानमन्त्री निवास कोरोना संक्रमणको उच्च जोखिममा भएपछि सबै भेटघाट बन्द गरिएको प्रधानमन्त्रीनिकट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताए।
‘सचिवालयका अधिकांशलाई कोरोना देखिएपछि त्यसै पनि संवेदनशील हुन्छ। त्यसमा पनि थप भिडभाड गर्नु उचित हुँदैन भनेर सबै भेटघाट बन्द गरिएको हो‚’ नेम्वाङले भने, ‘तर, प्रधानमन्त्रीज्यूको कोरोना परीक्षण गरे पनि नेगेटिभ रिर्पोट आयो। प्रधानमन्त्रीज्यूलाई त्यस्तो कुनै आशंका गर्नुपर्ने छैन।’
शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा‚ प्रमुख सल्लाहकार विष्णु रिमाल‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पुष्टि भएको हो।