काठमाडौं- नेपालका लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा नियुक्त भएका डा राजेश समबाजीराव पाण्डवले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
डा पाण्डव असोज २ गते नेपालस्थित विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका थिए। यसअघि नेपालमा संगठनको प्रतिनिधीका रुपमा डा जोस भ्यानदेलियर कार्यरत थिए। डा भ्यान्देलियरको कार्यकाल सकिएपछि संगठनले डा पाण्डवलाई नेपाल पठाएको हो।
नवनियुक्त प्रतिनिधी डा पाण्डवले भने, ‘नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले विगतको ५० वर्षमा बलियो साझेदारी विकास गरेका छन्। यो साझेदारीले स्वस्थ नेपालको साझा उद्देश्य बोकेको छ। मैले नेपाल सरकार र अन्य साझेदारहरूसँगको साझेदारीलाई थप सुदृढीकरण गर्न र सबैका लागि स्वास्थ्यको महत्वपूर्ण एजेन्डालाई अघि बढाउने तर्फ पहल गर्नेछु।’
उनले नेपालमा स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको महत्वलाई जोड दिँदै भने, ‘सबैका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरूको सुनिश्चितता गर्दै कोभिड—१९ महामारीको सामना गर्नका लागि हामी सबैले एकजुट हुनु अत्यावश्यक रहेको छ। विश्वभरि नै र नेपालमा पनि अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरूमा बढिरहेको कोभिड—१९को संक्रमणले गर्दा म चिन्तित छु। यदि स्वास्थ्यकर्मीहरू नै जोखिममा भएमा, हामी सबै जोखिममा हुन्छौँ।’
विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा कार्यभार सम्हाल्दै र नेपालका जनतालाई आउँदै गरेको चाडपर्वका लागि शुभकामना व्यक्त गर्नुको साथै अपिल गर्दै भने, ‘नेपाली समाजका प्रत्येक सदस्यलाई जिम्मेवार भएर चाडपर्व मनाउनु हुन म आग्रह गर्न चाहन्छु। भीडभाड गरेर एकै ठाउँमा जम्मा हुँदा यो रोग देशका सबै कुनासम्म विस्तार हुन सक्छ।’
नेपालका युवाहरुलाई अपिल गर्दै उनले भने ‘युवाहरूले घरका जेष्ठ सदस्यहरू तथा जोखिममा रहेका अन्य सदस्यहरूको सुरक्षाको सुनिश्चितता गर्नुपर्दछ । युवाहरू पनि कोभिड—१९को समान जोखिममा रहेका हुन्छन् भनेर समेत उनीहरूले मनन् गर्नुपर्दछ । उनीहरूसँग दुइटा विकल्प छन् ( जोखिम समूहमा रहेकाहरूको जीवन रक्षा गर्ने वा उनीहरूलाई जोखिममा पार्ने।’
नेपाल आउनुपूर्व, डा पाण्डव सन् २०१५ अप्रिलदेखि सन् २०२०, सप्टेम्बरसम्म टिमोर-लेस्टेको लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधि थिए। उनले सन् २००४ यता विश्व स्वास्थ्य संगठनमा विभिन्न पदमा रहेर सेवा गरेका छन्।