काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकले जनताले ज्यान गुमाउनु नपरोस् भनेर सरकारले काम गरिरहेको बताएका छन्। एनआरएनको विश्व ज्ञान सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल सरकार दुईवटै पक्षबाट जनताको जीवनरक्षाका निम्ति प्रयासरत रहेको बताए।
'रोग र भोकले नेपालीले ज्यान गुमाउनु नपरोस् भनेर, जनताको जीवन सुरक्षित गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर मैले सुरु देखि नै अभिव्यक्ति दिँदै आएको छु', प्रधानमन्त्रीले भने, 'त्यसका निम्ति मेरो नेतृत्वको सरकारले पूर्ण रुपमा प्रयास पनि गरेको छ।'
कोभिड–१९ को विश्वव्यव्यापी महामारीको असर नेपालमा पनि परेको र अहिलेसम्म यो बढिरहेको बताउँदै उनले नियन्त्रणका प्रयासहरु जारी उल्लेख गरे।
'अझै प्रभावकारी ढंगले प्रयासहरुलाई अघि बढाएर हामी केही समयभित्रै यसलाई न्यूनीकरण गर्ने र पूर्ण रुपमा नियन्त्रण गर्ने प्रयासमा आफूलाई केन्द्रित गरेका छौँ', उनले भने।
यतिबेला नेपाल सरकारको काममध्ये प्रमुख काम कोभिड नियन्त्रणको लागि प्रयास गर्नु, कोभिडका विरुद्ध लड्नु, जनतालाई सुरक्षित राख्ने भएको प्रधानमन्त्रीको भनाइ छ।
'मैले सुरुदेखि नै भन्दै आएँ, सबैभन्दा महत्त्वपूर्ण कुरा जनताको जीवनरक्षा गर्नु हो', उनले भने।