काठमाडौं- सरकार र डा केसी पक्षबीच बिहीबार १० घण्टा बसेर रोकिएको वार्ता पुनः सुरु भएको छ। शुक्रबार साँझ ९ बजे सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा दुवै पक्षबीच वार्ता सुरु भएको हो।
केही समयअघि डा केसी पक्षका वार्ता टोली सदस्य डा लोचन कार्कीले वार्ताका लागि सिंहदरवार गइरहेको बताएका थिए। 'हामी वार्ता गर्नका लागि सिंहदरवार जाँदैछौँ,' ती सदस्यले भनेका थिए। उनले थप विषयबारे भने खुलाउन चाहेनन्। डा केसी र सरकारबीच भइरहेको वार्ताले निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
बिहीबार पनि सरकार र डा केसी पक्षबीच वार्ता भएको थियो। बिहीबार दुवै पक्षबीच सहमतिका लागि मस्यौदा तयार भएपनि अन्तिम टुंगोमा पुग्न थप छलफल आवश्यक भएको भन्दै शुक्रबार पुनः वार्ता बस्ने गरी बिहीबार वार्ता सकिएको थियो।
शुक्रबार बिहानै वार्ता बस्ने भनिएपनि बेलुका ९ बजे मात्र वार्ताले निरन्तरता पाएको हो।
२६ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।