काठमाडौं– बिहीबार बिहान एक जना साथीले फोन गरेर कुनै अस्पतालमा भेन्टिलेटर खाली भएको भए पत्ता लगाइदिन अनुरोध गरिन्।
उनले आफ्ना एक जना साथीको बुबा कोरोना पोजिटिभ भएको र मधुमेह, ब्लड प्रेसरको बिरामी भएकोले कुनै निजी अस्पतालको आइसियुमा उपचार भइरहेको बताइन्।
उनले अस्पतालले बिरामीको स्थिति गम्भीर भएको भन्दै चिकित्सकले भेन्टिलेटरमा राख्न भनेको तर कुनै अस्पतालमा भेन्टिलेटर खाली नभएको भन्ने जवाफ पाएकोले मलाई प्रयास गरिदिन भनेकी थिइन्।
मैले आफूले चिनेका कोरोना संक्रमितको उपचार हुने काठमाडौंका सरकारी र निजी सबै अस्पतालमा फोन गरें। तर सबै अस्पतालले भेन्टिलेटर खाली नभएको बताए।
साँझ एक निजी अस्पतालबाट भेन्टिलेटर खाली भएको फोन आयो। मैले साथीलाई फोन गरें। उनले अनेक प्रयासपछि दिउँसो टेकु अस्पतालको भेन्टिलेटर पाइएको र बिरामी टेकु लगेको बताइन्।
बिहीबार स्वास्थ्य मन्त्रालयले ४ बजेको मिडिया बिफ्रिङमा उपत्यकामा आइसियु र भेन्टिलेटर खाली रहेको र आवश्यक परेमा सम्पर्क गर्न भनिएको थियो।
अस्पतालले बेड खाली नभएको बताएपछि मन्त्रालयले बिहीबार उपलब्ध गराएको तथ्यांकमा उपत्यकामा कोरोनाका लागि बनाइएको अस्पतालमा १२५ आइसियु र ५५ भेन्टिलेटर खाली रहेको देखाउँथ्यो। तर बिरामीले आवश्यक हुँदा समेत त्यहाँ सुविधा पाएनन्।
ती साथीले अस्पतालहरुले नेता, ठूला व्यापारी र हुनेखानेका लागि बेड खाली छैन भनेर कृत्रिम अभाव सिर्जना गरेको भन्दै दुखेसो गरेकी थिइन्।
उनी मात्र होइन, पछिल्लो समय गम्भीर बिरामी भएका आफन्तका लागि अस्पताल अस्पताल चहार्दा पनि बेड नपाएर आफन्त गुमाएकाको पनि त्यही सोचाइ छ। अस्पतालहरुले महामारीमा रोगलाई व्यापार बनाएको भन्दै सामाजिक सञ्जालमा थुप्रैले गुनासो गरेका छन्।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले अस्पतालमा आइसियु र भेन्टिलेटर खाली भएर पनि बिरामीलाई छैन भन्ने अस्पतालबारे अनुगमन भइरहेको जानकारी दिए। ‘ती विषयमा अनुगमन गर्न टिम बनेको छ। उक्त टिमले काम गर्दै छ’, उनले भने।
सहप्रवक्ता अधिकारीले शुक्रबार सरकारी अस्पतालहरुका आइसियु र भेन्टिलेटर खाली नभएको बताए।
उनले भने, ‘संक्रमित बढेसँगै आइसियु र भेन्टिलेटर पनि फुल हुँदै गएका छन्। सरकारीका आइसियु र भेन्टिलेटर खाली छैनन्। निजी अस्पतालका केही बेड भने खाली छन्।’
कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै गम्भीर बिरामीको सख्ंया पनि बढ्न थालेको छ। संक्रमितको सख्या बढ्न थालेसँगै उपत्यकाका अस्पतालहरुमा आइसियु र भेन्टिलेटर पनि भरिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको तथ्यांक अनुसार देशभर ३१८ जना व्यक्ति आइसियु र ७५ जना भेन्टिलेटरमा उपचाररत छन्। तीमध्ये काठमाडौं उपत्यकामा मात्र २१२ जना आइसियु र ८५ जना व्यक्तिको भेन्टिलेटरमा उपचार भइरहेको छ।
उपत्यकाका अस्पताल र आइसियु खाली नभएपछि उपचारका लागि बिरामीको बिचल्ली भएको गुनासो बढेको छ। तर स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने बुधबार उपत्यकामा आइसियु र भेन्टिलेटर भरिएको बताएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडांै उपत्यकामा सरकारी अस्पतालमा १३४ र निजी अस्पतालमा ७२ आइसियु क्षमता रहेको जानकारी दिए। उनका अनुसार सरकारी अस्पतालमा ५४ र निजी अस्पतालमा २८ भेन्टिलेटरको क्षमता छ।
मन्त्रालयले दिएको यो तथ्यांकलाई आधार मानेर हेर्ने हो भने कोभिड–१९ का गम्भीर बिरामीका लागि उपत्यका सरकारी र निजी अस्पतालमा २०७ आइसियु र ८२ वटा भेन्टिलेटर उपलब्ध छन्।
कोरोनाका गम्भीर बिरामी बढेसँगै उपत्यकालगायत देशभर आइसियु र भेन्टिलेटरको माग बढेको छ ।
संक्रमितको बढ्दो संख्या मध्यनजर गर्दै मन्त्रालयले थप आइसियु र भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने देखिन्छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका कोरोना उपचार अस्पतालमा आइसियु र भेन्टिलेटरको अवस्थाः