काठमाडौं- मानवीय सेवाका कार्य गर्दा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको क्षेत्रमा लगानी बढाउनुपर्ने विज्ञहरुले जोड दिएका छन्।
मानसिक स्वास्थ्य दिवस, १० अक्टोबरको अवसरमा हिजो नेपाल रेडक्रस सोसाइटीबाट आयोजित अन्तर्राष्ट्रिय स्तरको छलफल कार्यक्रममा म्यानमारमा कार्यरत डा युवराज अधिकारीले नेपालमा कोभिड प्रतिकार्यमा अग्रपक्तिमा संलग्न ७० प्रतिशत चिकित्सक तथा स्वयंसेवकहरुमा कुनै न कुनै प्रकारका मानसिक र मनोवैज्ञानिक समस्या देखिएको आफ्नो अध्ययनले देखाएको बताए। उनले भने, “कोभिडपछि मानसिक स्वास्थ्य समस्या बढ्दो छ तर त्यस क्षेत्रमा लगानी आधा घटेकोले नीति निर्माताहरु अत्यन्तै गम्भीर हुनुपर्ने अवस्था छ।”
नेपालमा हरेक दिन औसतमा १५ जनाले आत्महत्या गर्ने गरेको र गएको वर्षमा करिब ६ हजार तीन सयले आत्महत्या गरेको आँकडा प्रस्तुत गर्दै नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले अन्तर्राष्ट्रिय रेडक्रस अभियान र नेपाल रेडक्रसले मानसिक स्वास्थ्यमा गरेका कार्यक्रमको बारेमा प्रस्तुतीकरण गरे।
कार्यक्रममा नेपाल रेडक्रस, साझेदार रेडक्रस सोसाइटीहरु, आइसिआरसी र रेडक्रसको महासंघका प्रतिनिधिहरु सहित ८५ जनाले भाग लिएको निर्देशक दिव्यराज पौडेलले जानकारी दिए।
कोभिड पश्चात नेपाल रेडक्रसका मनोसामाजिक सहयोग तथा निशुल्क हटलाइन ११३० मार्फत सेवा लिएका तारा गुरुङ, देवी रेग्मीले आफूलाई परेको समस्या र समाधानको बाटो देखाइदिएकोमा खुसी व्यक्त गर्दै अनुभव आदानप्रदान गरेका थिए।
कार्यक्रममा रेडक्रसको एसिया प्रसान्त क्षेत्रीय कार्यालयका विज्ञ एलिजा चेइङले एसिया क्षेत्रका मुलुकका रेडक्रस सोसाइटीहरुले मानवीय सहायता क्षेत्रमा मानसिक स्वास्थ्यमा गतिविधि बढाउँदै लगेको तर त्यो पर्याप्त नभएको बताइन्।