काभ्रे– काभ्रेमा कोरोना संक्रमितको संख्या एक हजार एक पुगेको छ। कुल संक्रमितमा ३६३ महिला र ६३८ पुरुष रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ। महिलाभन्दा दोब्बरको हाराहारीमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ। आइतबारसम्म सक्रिय सङ्क्रमितमध्ये १५० महिला र २४९ पुरुष रहेका छन्। काभ्रेमा हालसम्म पाँच पुरुष र चार महिला संक्रमितको मृत्यु भइसकेको छ।
पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये पनि महिलाभन्दा पुरुषको सङ्ख्या दोब्बर छ। सङ्क्रमितमध्ये २०१ महिला तथा ३९२ पुरुष निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा नरेन्द्र झाले जानकारी दिए। उनका अनुसार कुल सङ्क्रमितमध्ये हालसम्म ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन्। अधिकांश सङ्क्रमित ४५ वर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ ।
काभ्रेमा पछिल्लो केही दिनदेखि दैनिक सरदर ३० को संख्यामा संक्रमित थपिदै गएको तथ्यांकले देखाएको छ । आइतबार ४३ जनामा कोरोना सङ्क्रमण देखियो भने शनिबार १८, शुक्रबार ४३ तथा विहीबार २३ जनामा सङ्क्रमण देखिएको छ। काभ्रेमा एकै दिन ७९ जनामा समेत सङक्रमण देखिएको थियो।
पोष्टका अनुसार हाल सक्रिय संक्रमितमध्ये ३० महिला र ८० पुरुष अस्पताल आइसोलेसन र १२० महिला र १६९ पुरुष होम आइसोलेसनमा उपचाररत छन्। काभ्रेका कुल कोरोना सङ्क्रमितमध्ये हालसम्म ६० प्रतिशत कोरोना संक्रमणमुक्त भएका हुन् । नेपालमा कोरोना भाइरसट पहिलोपटक काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।
यसैबीच काभ्रेका १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन्। बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोनामुक्त भएका हुन् । हाल जिल्लाकै कुल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ३६ प्रतिशत अर्थात् १४४ सङ्क्रमित बनेपा नगरमा छन् ।
सबैभन्दा कम चौंरीदेउराली गाउँपालिकामा एक जना पुरुष रहेका छन्। हाल सक्रिय सङ्क्रमितमध्ये धुलिखेलमा ११९, पनौतीमा ३१, पाँचखालमा ३९, नमोबुद्धमा २७, मण्डनदेउपुरमा नौ, भुम्लु गाउँपालिकमा तीन, रोशीमा १०, महाभारत गाउँपालिकामा तीन रहेका छन्। रासस