काठमाडौं - नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले कोभिडको समयमा कुनै पनि कर्मचारीलाई निष्कासन नगरेको तथा बिदामा नराखेको स्पष्ट पारेको छ।
अस्पतालले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिडको समयमा कुनै पनि कर्मचारीलाई बजफ्ती निष्कासन नगरेको खबरमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो। अस्पतालको आन्तरिक कर्मचारी व्यवस्थापन विनियम अनुसार उमेरको हदबन्दी नाघेका र कार्य सम्पादनको आधारमा श्रम ऐन बमोजिम आवश्यक सुविधा दिई केही कर्मचारीलाई सेवा निवृति गरिएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, नर्भिकले कोभिडको समयमा कुनै पनि कर्मचारीलाई बलजफ्ती निश्कासन गरेको छैन। ठूलो संख्यामा स्टाफ नर्सलाई विदामा राखिएको, सफाईकर्मीहरुलाई जबरजस्ती निश्कासन गरिएको भन्ने लगायतका व्यहोरामा कुनै सत्यता छैन।
कर्मचारीको तलब काटेको विषयमा पनि कुनै सत्यता नरहेको अस्पतालको भनाई छ। कोरोनाको महामारीको समयमा साप्ताहिक रुपमा ४८ घण्टाको सट्टा ३६ घण्टाको ड्युटी मात्र गराएर सोही अनुसारको तलब दिइएपनि भदौ महिनादेखि ४८ घण्टाको तलब नै दिइएको अस्पतालले जनाएको छ। कोभिडको समयमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको मनोबल गिर्ने गरी भ्रम नफैलाइ दिन अस्पतालको आग्रह छ।