काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई भीडभाडमा नजान आग्रह गरेको छ।
मन्त्रालयले राजनीतिक दलका ठूला नेताहरु समेत कोरोना संक्रमित हुन थालेपछि उनीहरुलाई भीडभाडमा नजान, कार्यकर्ता नभेट्न आग्रह गरेको हो।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भने, ‘दलका नेता, कार्यकर्ता र समाजका अन्य सामाजिक व्यक्तिहरु भिडभाड जाने त्यहीबाट संक्रमण सरेको सुनिएको छ। त्यहाँबाट संक्रमण देखिएकोले भिडभाडमा नजानु हुन अनुरोध छ।’
प्रवक्ता गौतमले यस्ता व्यक्तिहरुलाई सभा, गोष्ठि, जुलुसमा नजान समेत आग्रह गरेका छन्।
शिक्षामन्त्री गिरीराजमणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टाराई, राप्रपाका अध्यक्ष कमल थापा, पूर्व स्वास्थ्यमन्त्री गगन थापालगायत नेताहरू कोरोना संक्रमित भएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो।
मंगलबार पर्साको बिन्दवासनीमा जनता समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा पनि सयौंको संख्यामा कार्यकर्ता तथा नेताहरू सहभागी भएका थिए।