नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाका साथै बाँके जिल्लाभरि नै कोरोना संक्रमण दरमा वृद्धि भएपछि अतिआवश्यक सेवा प्रवाहमा खटिएका स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीहरुमा संक्रमणको जोखिम बढ्दै गएको छ। कोरोनाको जोखिम न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकामा फोहोर व्यवस्थापनमा संलग्न कर्मचारीका लागि एक दिने कोरोना प्रतिकार्य सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
सरसफाइकर्मीलाई कार्यक्षेत्रमा हुने संक्रणको जोखिम र असरलाई न्यून पार्दै र नेपालगञ्ज उपमहानगरपालिकालाई दिगो रुपमा सफा र स्वच्छ सहर राख्नका लागि उक्त्त कार्यक्रम सञ्चालन गरिएको नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा सरसफाइ शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले बताएका छन्।
उक्त्त कार्यक्रममा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै सहभागीहरुलाई कोभिडको बारेमा जानकारी दिने, लक्षण, रोकथाम र बच्ने उपाय तथा फोहोर व्यवस्थापन गर्दा क्लोरिनको घोल बनाउने र प्रयोग गर्ने तरिका सिकाइएको थियो।
उपमहानगरपालिकाको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा सरसफाइ सुपरभाइजरहरुको सक्रिय सहभागिता रहेको थियो। उक्त्त कार्यकमको प्राविधिक सहयोग एमडिएम-फ्रान्स (विश्वका चिकित्सकहरु) नामक संस्थाले गरेको थियो भने आर्थिक सहयोग जिआइजेड नेपालले गरेको थियो।