डा श्रीराम तीवारी
यस पटकको दसैं अघिल्लो दसैंभन्दा फरक छ। कोरोनाको कहरका बीचमा दसैं परेकोले आफूलाई सुरक्षित राखेर मनाउनुपर्ने बाध्यता छ। पहिलापहिला मिठो परिकार बनाएर खाने, खसी काट्ने, साथीभाइसँग भेटघाट गर्ने, घुम्न जाने र रमाइलो गरेर दसैं मनाउने गरिन्थ्यो।
म प्रायः जहाँ भए पनि चितवनस्थित आफ्नै घरमा परिवारसँग बसेर दसैं मनाउने गरेको छु अहिलेसम्म।
एक पटकको दसैंमा अछाममा ड्युटी परेको थियो। त्यो बेलामा मेरो परिवार पनि त्यहीँ थियो। त्यो बेलामा मेरो बिदा पनि मिलेको थिएन। त्यहाँ एक जना चिनेको बुबा हुनुहुन्थ्यो, हामीलाई माया गर्नुहुन्थ्यो, त्यसैले हामीले त्यो वर्षको दसैं त्यही मनाएका थियौँ। त्यो नै पहिलो दसैं होला आफ्नो घरभन्दा बाहिर बसेर मनाएको।
सुदूरपश्चिमका विभिन्न जिल्लामा मेरो पोस्टिङ भएको बेलामा टाढा भएकोले एक हप्ता अगाडि घर आउने बिदा मिल्थ्यो। त्यो बाहेक एबिबिएस पढ्ने बेलामा दसैंमा हामीले बिदा पाउँदैनथ्यौं। त्यसैले नवमीसम्म ड्युटी गरेर बाइकमा घर जान्थें दसैं मनाउन।
अहिले म त्रिपुरेश्वरस्थित केन्द्रीय कारागार अस्पतालमा छु। अस्पतालको प्रमुख भएको नाताले यस पटक पनि अस्पतालमा सबैको ड्युटी मिलाएर चितवन जाने निर्णय गरेको छु। मेरा छोरीहरु पनि काठमाडौंमा छन्, त्यसैले उनीहरुलाई लिएर जाने निर्णय गरेको छु।
हामीले दसैं ५ दिनसम्म मान्यजनको हातबाट टीका र जमरा लगाएर दसैं मनाउने गर्छौं। पहिलापहिलाको दसैंमा सम्पूर्ण चिनजानका आफन्तकहाँ गएर टीका–जमरा थाप्ने गर्थें। यस पटक आफ्नै घरमा टीका लगाउने र एक/दुई जना आफन्त जहाँ नगई हुँदैन, उनीहरुकहाँ गएर टीका र जमरा लगाउने सोच बनाएको छु।
हाम्रो पुर्ख्यौली घर नुवाकोट हो। त्यहाँ ममीतिरको हजुरआमा हुनुहुन्छ। उहाँको हातबाट टीका लगाउन जाने सोच बनाएको छु। अर्को भनेको छोरीहरुलाई लुम्बिनी घुमाउने योजना बनाएको छु, हेरौं के हुन्छ।
मलाई सानो बेलामा दसैं भनेपछि खुबै मनर्थ्यो। दसैं आएपछि गाउँका मानिसहरु जम्मा भएर लंगुरबुर्जा खेल्नुका साथै घरनजिकै पिङ हाल्थे। हामी साना बच्चालाई लड्छन् भने पिङ खेल्न दिँदैनथे। खेल्न नपाए पनि बिहानैदेखि पिङ हालेको ठाउँमा गएर ठूला मानिसहरु खेलेको हेर्न खुबै रमाइलो लाग्थ्यो।
दसैंको बेलामा चोकचोकमा लंगुरबुर्जा खेल्थे। आफूभन्दा ठूला मानिसले लंगुरबुर्जा खेलेको हेर्न साह्रै मनपथ्र्यो। कहिलेकाहीं त लाग्थ्यो, मानिसहरुसँग यत्तिका पैसा कहाँबाट आउँछ होला। अहिले पनि म आफू तास खेल्दिनँ तर साथीभाइ, दाजुभाइ खेलेको हेर्न खुबै मन पर्छ।
(डा तिवारी केन्द्रीय कारागार अस्पतालका मेसु हुन्।)