काठमाडौं - नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीले इन्टर्न गरिरहेका चिकित्सकहरुको सुरक्षाका लागि व्यक्ति सुरक्षा स्वास्थ्य सामग्री (पिपिई) वितरण गर्न सुरु गरेको छ।
कोरोनाको महामारीको समयमा जोखिम मोलेर काम गरेको भन्दै सोसाइटीले इन्टर्न गरिरहेका चिकित्सकहरुको सुरक्षाका लागि पिपिई वितरण गर्न सुुरु गरेको हो। द प्रोजेक्ट पिपिई कार्यक्रम अन्तर्गत उनीहरुलाई स्वास्थ्य सुरक्षाका लागि पिपिई वितरण गरिएको सोसाइटीले जनाएको छ। सोसाइटीले असोज ३० गते उक्त प्रोजेक्ट त्रिवि शिक्षण अस्पतालबाट उद्घाटन समेत गरेका छन्।
पहिलो चरणमा त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर र नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्समा इन्टर्न गरिरहेका चिकित्सकलाई पिपिई वितरण गरिएको प्रोजेक्ट डिरेक्टर राजेश शर्माले बताए। त्रिवि शिक्षण अस्पताललाई ७३, पाटन अस्पताललाई ६१ र आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सलाई १ सय ११ पिपिई वितरण गरिएको उनले जानकारी जानकारी दिए।
कतिपय अस्पतालहरुले सीमित स्रोत साधनका कारण पर्याप्त मात्रामा पिपिई उपलब्ध गराउन नसकेको शर्माले बताए। उनले भने, ‘कोरोनाको महामारीमा जोखिम मोलेर काम गरिरहेका इन्टर्न डाक्टरहरुका लागि यो प्रोजेक्ट ल्याएका छौं। कतिपय अस्पतालहरुले सीमित स्रोत साधनका कारण सबैलाई पिपिई उपलब्ध गराउन सकेका छैनन्।’
दोस्रो चरण अन्तर्गत काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज जोरपाटी, गण्डकी मेडिकल कलेज, चितवनस्थित चितवन मेडिकल कलेज, वीरगञ्जस्थित नेशनल मेडिकल कलेज, विराटनगरस्थित नोबेल र विराटनगर मेडिकल कलेज, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पतालमा इन्टर्न गरिरहेका चिकित्सकलाई पिपिई वितरण गरिनेछ।
शर्माले भने, ‘पहिलो चरणमा यी अस्पतालहरुमा पिपिई वितरण गर्छौ। हामीले देशभर रहेका १५ सय इन्टर्न डाक्टहरुका लागि ९ सय पिपिई र १ सय एमएल सेनिटाइजर वितरण गछौं।’
देशभर हाल इन्टर्न गर्ने चिकित्सकको संख्या १ हजार ५ सय रहेको सोसाइटीले जनाएको छ। उनीहरु सबैलाई गरी ९ सय पिपिई, एक सय एमएल सेनिटाइजर, एन ९५ मास्क र ग्लोब्स उपलब्ध गराइने शर्माले जानकारी दिए। यस प्रोजेक्टलाई नेपाल हेल्थ र्कोप्स र फुची फाउण्डेशनले सहयोग गरेको छ।