डा धुव्र गैरे
मेरो घर बाग्लुङ, गलकोट हो। हामी दसैंको टीका ५ दिनसम्म लगाउने गर्छौं। हामी प्रायः दसैं पुर्ख्यौली घरमा नै मनाउने गर्थ्यौं। यसपालि कोरोनाले गर्दा घर जान सकिएन।
म आफैं कोरोना संक्रमित भएर निको हुँदै छु। वृद्ध आमाबुबा सँगै हुनुहुन्छ। आमाबुबाको स्वास्थ्यको ख्याल गर्दै हामी यसपालिको दसैं परिवारमा सीमित भएर मनाउने तयारीमा छौं। आफूले बच्चाहरुलाई टीका लगाइदिने र आमाबुबाको हातबाट टीका आर्शिवाद लिएर यसपालिको दसैं मनाउने हो।
सानो बेलामा मनाइको दसैंको अहिले पनि याद आउँछ। खेतमा धान पाक्न थालेपछि, बारीभरि फूल फुल्न र अम्बा फल्न थालेपछि दसैं आउन लागेको थाहा हुन्थ्यो। गाउँमा टाढाटाढाबाट आफन्त आउने हुँदा गाउँ नै रमाइलो हुन्थ्यो।
दसैं आउँदा गाउँको माहोल नै अलग्गै हुन्थ्यो। सबैले बाटो सफा गर्ने, घरआँगन सफा गर्ने, घर रंगिबिरंगी माटोले रंग्याउने गर्थे। हामी ससाना केटाकेटी भने दसैं कहिले आउँछ भनेर दिन गनेर बस्थ्यौँ।
दसैंको बेलामा स्कुल एक महिना बिदा हुने हुँदा साथीहरु मिलेर घुम्न जान्थ्यौँ। दसैंमा अम्बा खाँदै गाउँ डुल्न खुबै रमाइलो लाग्थ्यो।
दसैंको अर्को रमाइलो पक्ष भनेको पिङ हो। हामी केटाकेटीहरु बिहानदेखि साँझसम्म पिङको पालो कुरेर बस्थ्यौं। ठूला मानिस पिङ खेल्न नआएको मौका छोपेर हामीहरु पिङ खेल्थ्यौँ। ती क्षणहरु सम्झँदा अहिले पनि रमाइलो लाग्छ।
काठमाडौंमा प्लस टु पढ्ने बेलामा पनि दसैं आउनुभन्दा एक महिना अगाडिदेखि नै घर जाने योजना बनाएर बस्थ्यौँ। एक महिना बिदामा हामी विभिन्न ठाउँमा घुम्न जान्थ्यौँ।
दसैंको बेलामा घरमा पाक्ने सबै परिकार विशेष लाग्थे मलाई। दसैंमा पाक्ने परिकारमध्ये मलाई मन पर्ने परिकार खसी र च्याङ्ग्राको मासु हो। काठमाडौंमा भने गाउँघरमा पाइने जस्तो स्वाद पाइँदैन।
एमबिबिएस मैले बंगलादेशमा पढेको हुँ। त्यो बेलामा पहिलो पटक घरभन्दा टाढा भएकोले टीका नलगाई बस्नु परेको थियो। बंगलादेशबाट फर्किएपछि पहिलो पटक प्रसूति गृहमा काम गर्ने मौका मिल्यो। त्यहाँ काम गर्दा दसैंमा पनि ड्युटी पर्थ्यो।
त्यस्तो अवस्थामा हामीले बिहानको ड्युटी सिध्याएर घरमा गएर टीका लगाएर पुनः ड्युटीमा फर्कनुपर्थ्यो। काम गर्न सुरु गरेपछि व्यस्तताका कारण सानो बेलाको जस्तो खुलेर दसैं मनाउन पाएको छैन।
(डा गैरे कन्सल्ट्यान्ट फिजिसियन हुन्।)