कठमाडौं– यतिखेर आम नेपालीले दसैं मनाइरहेका छन्। फूलपातीदेखि अत्यावश्यक बाहेकका सबै सरकारी र गैरसरकारी कार्यालयहरु बन्द हुने भएकाले दसैंको टीका थाप्न अधिकांश नेपाली आफ्नो जन्मथलो गइसकेका छन्। दसैंमा गाउँघरमा रौनकता छाइसकेको छ। तर स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई भने न त दसैं न अरु चाडबाड। सधैंझैं स्वास्थ्यकर्मी अस्पतालमै बिरामीको उपचारमा खटिएका छन्।
यो वर्षको दसैं स्वास्थ्यकर्मीका लागि विगतको जस्तो छैन। विगतमा स्वास्थ्यकर्मी ड्युटी मिलाएर दसैं÷तिहार मनाउँथे। यो वर्ष कारोना संक्रमणको कारणले स्वास्थ्यकर्मीहरु २४ सैं घण्टा सेवा दिइरहेका छन्।
कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई १४ दिन ड्युटी गरेपछि १४ दिन बिदाको व्यवस्था गरिएको थियो। तर भर्खरै मात्र सरकारले संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई १४ दिन विदा नदिई दुई÷तीन दिनमा काममा फर्काउने निर्णय सुनायो। यो निर्णयसँगै दसैंमा बिदा नपाएका स्वास्थ्यकर्मी तिहारमा पनि घर जान नपाउने देखिएको छ।
हामीले दसैंका बेला घर नगएर कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीसँग कुरा गरेका छौँ।
मुना पोखरेल, स्टाफ नर्स, वीर अस्पताल
मेरो घर झापा हो। मेरो बाल्यकाल झापामा बित्यो। दसैंमा एक महिना लामो बिदा हुने हँुदा खुवै रमाइलो हुन्थ्यो। स्कुल बिदा हुनासाथ मम्मीले नयाँ लुगा किनिदिन लैजानु हुन्थ्यो। नयाँ लुगा लगाउन दसैं कहिले आउँछ भनेर कुरेर बस्थ्यौँ। स्कुल बिदा भएपछि मम्मीले मलाई र दाइलाई बजार लगेर नयाँ लुगा किनिदिनुहुन्थ्यो। नयाँ लुगा लगाएर साथीहरुलाई देखाउँथ्यौं।
साथीहरु जम्मा भएर दिनभर खेल्ने गथ्र्याैं। दाइ, म र ठूलो मम्मीको छोरोछोरी लिङ्गे पिङ हालेर खेल्थ्यौँ। दसैंमा मामाघर जान पाउँदा पनि निकै रमाइलो लाग्थ्यो। एसएलसीसम्म निकै उत्साहपूर्ण हुन्थ्यो दसैं। त्यसैले भनिन्छ, बाल्यकालको जस्तो दसैं कहिल्यै हुँदैन। बाल्यकालको दसैं सधैं सम्झिन्छु।
एसएलसीपछि नर्सिङ पढ्न सुरु गरे। त्यसपछि भने सानोमा जस्तै रमाइलो गरेर दसैं मनाउन पाइएको छैन। नर्सिङ पढ्दा बिदा थोरै हुन्थ्यो। त्यसले गर्दा पनि राम्रोसँग दसैं मनाउन पाइएन। जागिर सुरु गरेपछि त झनै दसैंको उत्साह नै हराएर गयो। आफूले चाहेका बेला बिदा पनि नमिल्ने अनि लामो समय घरमा बस्न पनि नमिल्ने। मैले काम सुरु गरेको पाँच वर्ष भयो। कहिले दसैंमा त कहिले तिहारमा घर जान पाइन्थ्यो
अहिले त घर नगएको पनि १० महिना भइसक्यो। वैशाखमा घर जाएँ तर लकडाउनले गर्दा जान पाइनँ। अस्पतालले कोरोना संक्रमितको उपचार सुरु गरेपछि त मौकै पाइएन। अस्पतालले मलाई पनि संक्रमितको उपचारमा खटाएको छ। अस्पतालले सुरुवाती दिनमा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई १४ दिन ड्युटी गर्ने र १४ दिन बिदा दिन्थ्यो।
दसैंमा ड्युटी गरेकोले १४ दिन बिदामा तिहारमा घर जाने सोच बनाएको थिएँ। तर सरकारले केही दिनअघि मात्र कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई १४ दिन बिदा नदिने र एक÷दुई दिन मात्र बिदामा राख्ने निर्णय गर्यो।
तिहारमा घर जाने भनेर योजना बनाएर बसेको थिएँ। अब जान नपाइने हो कि भन्ने चिन्तामा छु। एक÷दुई दिन मात्रै बिदा मिल्यो भने कसरी घर जानु? पिसिआर नगरी घर जाने कुरै भएन। जबकी पिसिआरको रिपोर्ट आउनै तीन दिन लाग्छ। फेरि यहाँदेखि झापा पुग्नु छ। घर पुग्नेवित्तिकै फर्किने कुरा पनि भएन। दुई–चार दिन बस्नैप¥यो। यस पटक अन्योलमै छ, घर जाने कुरा। दसैंमा जान नपाए पनि तिहार त घरपरिवारसँग मनाउन पाइएला कि भन्ने सोचेको थिएँ। तर तिहार पनि अस्पतालमै बित्ला जस्तो छ।
अस्पताल प्रशासनको लापरबाहीले धेरै स्वास्थ्यकर्मी संक्रमित भएका छन्। अस्पतालले नियमित तलब पनि दिएको छैन। त्यतिमात्र होइन, सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका स्वस्थ्यकर्मीलाई क्वारेन्टाइनमा नराख्ने निर्णय गरेको छ। यसले हामीलाई झनै अप्ठ्यारोमा पारेको छ। पहिला त सरकारले होटलमा क्वारेन्टाइनको व्यवस्था गरेको थियो।
काठमाडौंमा घर हुने साथीहरुलाई त समस्या भएन। उनीहरुले आफ्नै घरको एउटा छुट्टै कोठामा बस्लान्। तर हामी भाडामा बस्नेहरुलाई समस्या भएको छ। दिन÷रात अस्पतालमा ड्यूटी गरेर कोठामा जाँदा घरबेटीले कराउँछन्। अस्पतालमा काम गर्ने भनेपछि घरबेटीले राम्रो व्यवहार नै गर्दैनन्। कोठा छोड्न भन्न थालेका छन्।
हामीले प्रशासनलाई यो निर्णय सच्याउन भन्दै आएका छौँ। तर प्रशासनले हाम्रो अनुरोधलाई बेवास्ता गर्दै आइरहेको छ। त्यो कारणले यो वर्षको दसैं अस्पतालमा नै बित्ने भो। अब होटलमा क्वारेन्टाइनमा नराख्ने भएपछि कहाँ बस्ने हो त्यो पनि टुंगो छैन।