रामबहादुर कुरुम्वाङ
कोरोना भाइरसले निकै कमजोर बनाउँदो रहेछ। कोरोना केही होइन भन्ने सोच्नु गलत हो। म समस्या पर्दा डराउने वा आत्तिने मान्छे होइन तर कोरोना संक्रमणपछि भने निकै अत्यास लाग्यो।
संक्रमण भएको समय मलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र गाह्रो हुने भयो। संक्रमण भएपछि शरीरको दुखाइ निकै भएको थियो। शरीर दुख्दा त जस्तो नडराउने मानिसको पनि पसिना छुट्छ।
यसो वरपर हिँडडुल गर्न पनि शरीर दुख्ने, श्वास फुलेर आउने रहेछ। त्यसैले हल्का रुपमा लिनु हुँदैन भन्ने कुरामा अझ पक्का भएको छु।
पछिल्लो समय मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने, भीडभाडमा जाने, दूरी कायम नराख्ने जस्ता कार्य गरिरहेका छन्। यसले संक्रमण फैलाउने र थप परिस्थिति जटिल बनाउँछ जस्तो लाग्छ।
हामीले बाँकेमा पनि सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गराउन सकेका छैनौँ। अहिले त झन् मानिसहरुले भनेका केही कुरा फलो गरेको देखिँदैन।
त्यस बाहेक, होम आइसोलेसनले पनि संक्रमण बढाएको जस्तो लाग्छ। हामीले बाँके जिल्लामा निकै ढिला करिब २ महिनापछि मात्र होम आइसोलेसन सुरु गरेका हौँ।
घरमा सोचेजस्तो व्यवस्थापन भएको छैन। अबको मुख्य काम भनेको संक्रमण भएकाहरुलाई बचाउने हो। पैसा भएका मानिसहरुले उपचार पाउलान् तर आम मानिस उपचार नपाएरै मर्ने स्थिति आउने देखिन्छ।
त्यसैले सरकारले अलि फरक तरिकाले कोरोना महामारीको लागि योजना बनाउनुपर्छ। अहिलेका योजनाले अब प्रभावकारी काम गर्दैन।
म कोरोनामुक्त भएपछि बाँके जिल्लाको हकमा हामीले सामाजिक व्यक्तित्वहरुसँग बसेर कुरा गर्ने र अगाडि कसरी बढ्ने भन्नेबारे छलफल गर्ने योजना छ।
भेरी अस्पतालमा थप ७० बेड आइसोलेसन थप गर्ने तयारी भएको छ। त्यस बाहेक सिडियो कार्यालयमा हरेक दिन दिनको ४ बजे स्वाब संकलन गर्ने गरेका छौँ।
सो समयमा कन्ट्याक्ट टे«सिङमा परेका, पैसा नभएर स्वाब परीक्षण गर्न नसकेका नेपालगञ्जका मानिसहरुले परीक्षण गर्न सक्नुहुन्छ।
अहिलेसम्म राम्रो गरिरहेको छौं जस्तो लाग्छ। अहिले जनस्वास्थ्यको मापदण्ड लागू गराउन भने निकै चुनौती छ। हामीले भनेकै भरमा मानिसहरुले मान्दैनन्। अब सरकारले नै छुट्टै पोलिसी बनाएर काम गर्नुपर्छ जस्तो लाग्छ। जस्तो फ्रान्सले गरेको छ नि, सरकारले अप्रिय जस्तो निर्णय गरेर र लागू गराउनै पर्छ नत्र अहिलेको जस्तो सिसिएमसीले निर्णय गर्ने गरेर हुँदैन।
(बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङसँग कल्पना पौडेलले गरेको कुराकानीमा आधारित)