चितवन- चितवनमा हालसम्म ११६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। तीमध्ये ६४ जना चितवनकै हुन् भने अन्य १२ जिल्लाका रहेका छन्। जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाट समेत सङ्क्रमित उपचार गराउन आउने गर्दछन्। शवको व्यवस्थापन गर्दै आएको नेपाली सेनाको कालीबहादुर गण भरतपुरका अनुसार गणले १०७ शवको व्यवस्थापन आफैँले गरेको छ। बाँकी सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो।
गणका अनुसार मृत्यु भएकाहरुमा चितवनबाहेक सबैभन्दा बढी नवलपरासी (त्रिवेणी सुस्तापूर्व) का रहेका छन् । सो जिल्लाका १८ जनाको चितवनका अस्पतालमा मृत्यु भएको हो। त्यसैगरी मकवानपुरका १२, रौतहटका चार, सर्लाहीका चार, तनहुँका तीन, गोरखाका चार, कैलालीका दुई, बारा, रुपन्देही, गुल्मी, धादिङ र प्युठानका एक–एक जनाको यहाँका विभिन्न अस्पतालमा मृत्यु भएको हो।
जिल्लामा हालसम्म पाँच हजार ९२३ सङ्क्रमित भएका छन् । तीमध्ये ६४ जनाको मृत्यु भएको हो। मृत्युदरको हिसाबले १.०८ प्रतिशत हुन आउँछ। देशभरको तथ्याङ्कलाई हेर्दा मृत्युदर ०.५५ प्रतिशतमात्रै रहेको छ। देशभरको कुल सङ्क्रमणबाट मृत्यु भएकाको सङ्ख्या ९८४ रहेको छ । तीमध्ये ११६ जनाको चितवनमा मृत्यु भएको हो। नेपालमा मृत्यु भएकाहरुको हिसाबले चितवनमा मृत्यु भएकाहरुको प्रतिशत १२.०८ हुन आउँछ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवनले आफ्नो जिल्लाको मात्रै नभएर छिमेकी जिल्लाका सङक्रमितको उपचार र शव व्यवस्थापन गरेको हुँदा कुल मृत्यु सङ्ख्या बढी हुन आएको बताए। यहाँको सङ्घीय भरतपुर अस्पताल, दुई मेडिकल कलेज र निजी अस्पतालले समेत सङ्क्रमितको उपचार गर्दै आएका छन्। सबैको साथ र सहयोगकै कारण जिल्लामा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमितको व्यवस्थित उपचार र मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सहज भएको भट्टराई भनाइ छ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सङ्क्रमितहरु जटिल भएपछि यस जिल्लामा उपचारका लागि आउने गरेकाले मृत्यु सङ्ख्या बढी भएको बताउछन्। पछिल्लो समय काठमाडौँ जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाबाट आउने क्रम बढेको उनको भनाइ छ। -रासस