फाइल तस्बिर
महोत्तरी- महोत्तरीको बर्दिवास नगरपालिका–२ स्थित बर्दिवास अस्पताललाई थप पिसीआर मेसिन प्राप्त भएको छ। शनिबार साँझ एक समारोहबीच रोटरी क्लब बर्दिवासले अस्पताललाई एक थान पिसीआर मेसिन प्रदान गरेको हो। बर्दिबास अस्पतालमा बर्दिवास नगरपालिकाले यसअघि नै पिसीआर मेसिन जडान र जनशक्ति व्यवस्थापन गरेर पिसीआर परीक्षण गर्दै आएको थियो।
श्निबार साँझ रोटरी इन्टरनेशनलबाट रोटरी क्लब बर्दिवासलाई प्राप्त स्वास्थ्य उपकरणहरु पिसीआर मेसिन एक थान, ल्यापटप एक थान र युपिएस एक थानसहितका सामग्री अस्पताललाई प्रदान गरिएको हो।
रोटरी क्लब ३२९२ जिल्ला शाखा (नेपाल शाखा) का पूर्वसचिव राजेन्द्र दाहाल र रोटरी क्लब बर्दिवासका अध्यक्ष हीरालाल गौतमसहितका पदाधिकारीले बर्दिवास अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख विदुरकुमार कार्कीलाई हस्तान्तरण गरेका थिए।
बर्दिवास अस्पतालले यसअघि गत भदौ १२ गतेदेखि नै नगरपालिकाले जडान गराएको पिसीआर मेसिनबाट सर्वसाधारणको कोभिड–१९ परीक्षण गर्दै आएको छ। थप मेसिन प्राप्त भएपछि कोभिड–१९ सङ्क्रमण भएनभएको यकिन गर्न स्वाब परीक्षण गर्ने काम अझ सघन गर्न सकिने नगरप्रमुख कार्कीले बताए।
शिक्षा, स्वास्थ्य, शान्तिका लागि काम गरिरहेको रोटरी क्लब बर्दिवासले कोभिड–१९ नियन्त्रणका लागि स्वाब परीक्षणको दायरा फराकिलो बनाउन पिसीआर मेसिन अस्पताललाई हस्तान्तरण गरिएको रोटरी क्लब बर्दिवासका अध्यक्ष गौतमको भनाइ छ।
कोरोना भाइरसको जारी महामारीबीच स्वाब परीक्षण र यसपछि अन्य रोगबारे जाँच गर्न सकिने बहुउपयोगी पिसीआर मेसिन बर्दिवास अस्पताललाई प्रदान गरिएको रोटरी इन्टनेशनलअन्तर्गत (३२९२, नेपाल शाखा) का पूर्वसचिव दाहालले बताए।
यो बहुउपयोगी मेसिन मुलुकभरिका अन्य आठ अस्पताललाई प्रदान गर्न झिकाइँदा एक अस्पताललाई रु १५ लाखमा उपलब्ध गर्न सकिएको दाहालको भनाइ थियो।
बर्दिवास अस्पतालमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा, उदयपुर, सिन्धुलीसहितका जिल्लाका सर्वसाधारणले स्वाब परीक्षणको सेवा लिँदै आएका अस्पतालले जनाएको छ। हालसम्म दुई हजारभन्दा बढीले अस्पतालमा स्वाब परीक्षण गराएका बर्दिवास नगर कोभिड–१९ सङ्क्रमण नियन्त्रण अभियानका सहसंयोजक तथा अस्पतालका जनस्वास्थ्य निरीक्षक रामबाबु यादवले जानकारी दिए। रासस