काठमाडौं- नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ। दिनहुँ हजारौंको संख्यामा मानिसहरु कोरोनाबाट संक्रमित भइरहेका छन्। आफ्नै हेलचेक्र्याइँले कोरोना संक्रमित हुनेको संख्या पनि उत्तिकै छ। तर कतिपय व्यक्ति आवश्यक सर्तकता अपनाउँदाअपनाउँदै पनि संक्रमित हुन पुगेका छन्। तीमध्येका एक हुन्, वीर अस्पतालमा कार्यरत अहेब हिमालय तिवारी।
करिब एक वर्षअघि चीनको वुहानमा कोरोना संक्रमण फैलिएदेखि नै तिवारी जिस्कँदै भन्ने गर्थे- यदि नेपालमा पनि संक्रमण फैलियो भने सबैभन्दा पहिले म संक्रमित हुन्छु होला। त्यसको कारण थियो, मिर्गौलाको औषधि खाइरहेको र रोग प्रतिरोधात्मक क्षमता कम भएकोले उनलाई सामान्य रुघाखोकीले पनि दुःख दिइराख्थ्यो।
त्यसैले उनले नेपालमा कोरोना संक्रमित देखिनासाथ आफूलाई संक्रमण नफैलियोस् भनेर निकै सतर्कता अपनाउँदै आएका थिए। अस्पतालमा उनी बस्ने कोठा छुट्टै थियो भने घरमा पनि छुट्टै आइसोलेसनमा बस्ने व्यवस्था गरेका थिए।
कार्यालय र घरमा सतर्कता अपनाउँदै आएको भए पनि उनी संक्रमणबाट जोगिन सकेनन्। असोज महिनामा उनी र उनको घरमा बस्ने अन्य सदस्यमा पनि संक्रमित हुन पुगे।
उनी र उनका परिवार आवश्यक सतर्कता अपनाउँदाअपनाउँदै पनि कसरी संक्रमण सर्यो भनेर अचम्ममा छन्।
तिवारी भन्छन्, ‘म मिर्गौलाको औषधि खाँदैछु। मिर्गौला ट्रान्सप्लान गरेकोले रोग प्रतिरोधात्मक क्षमता पनि कम छ। नेपालमा कोरोना संक्रमित भेटिनासाथ सुरक्षित नै भएर बसेको थिएँ।’
घर र कार्यालयमा छुट्टै कोठामा बस्ने व्यवस्था गरे पनि कहाँबाट संक्रमण भयो आफूलाई नै थाहा नभएको उनी बताउँछन्। ‘सात महिनासम्म घर–अफिस गर्दै आएको थिएँ। जोगिएकै थिएँ,’ उनी भन्छन्।
असोज १८ गते साँझ तिवारीको घाँटीमा एक्कासि खसखस भयो। उनलाई मौसमी फ्लुले छिटो असर गर्ने भएकोले सामान्य एलर्जी होला भन्ने लाग्यो। त्यो दिन तातोपानी खाएर सुते।
भोलिपल्ट अर्थात् असोज १९ गते बिहान उनलाई हल्का ज्वरो आयो। त्यसपछि भने कतै कोरोना त भएन भनेर मनमा चिसो पस्यो।
अस्पतालका कोभिड फोकल पर्सन डाक्टर अच्युत कार्कीलाई फोन गरे। उनले एक पटक पिसिआर गर्न तिवारीलाई सुझाव दिए। तिवारीले पिसिआर परीक्षण गर्न स्वाब दिए।
त्यही दिन साँझ कोरोना पोजेटिभ आयो। उनलाई एकछिन् त कसरी संक्रमित भए भनेर अचम्म लाग्यो। उच्च जोखिममा रहेका तिवारीलाई कोरोना पोजेटिभ आउँदा ‘अब म त अब बाँच्दिन जस्तो लाग्यो।’
तिवारीले मिर्गौलाको औषधि खाइरहेको हुनाले उनले तुरुन्त उनको मिर्गौलाको उपचार गर्दै आइरहेका चिकित्सक डा अनिल बराललाई फोन गरेर आफूलाई कोरोना भएको सुनाए।
डा बरालले तत्काल खाइरहेको केही औषधि रोक्न लगाए र थप आवश्यक चाँज गर्न सुझाव दिए।
तिवारीले पनि डा बरालले भनेजस्तै थप अन्य जाँच गराए। छातीको सिटी स्क्यान गरेर हेर्दा छातीमा कुनै समस्या देखिएन। त्यसैले उनलाई होम आइसोलेसनमा बस्ने सुझाव दिइयो।
चिकित्सकको सुझाव अनुसार नै तिवारी होम आइसोलेसनमा बसे। उनलाई दुई दिनपछि पुनः ज्वरो आउन सुरु भयो। आफूलाई ज्वरो आइसकेपछि उनले फेरि अस्पतालमा फोन गरे। र ज्वरो आएको खबर सुनाए। चिकित्सकले तुरुन्त अस्पताल भर्ना हुन आग्रह गरे।
उनी चिकित्सकले भनेअनुसार अस्पतालको आइसोलेसनमा भर्ना भए। रातिसम्म पनि ज्वरो नघटेपछि तिवारीलाई चिकित्सकले रेमडिसिभिर औषधि चलाए। भोलिपल्टदेखि ज्वरो कम हुँदै गयो।
ज्वरो घटे पनि शरीरमा सुगरको मात्रा बढ्दै गयो। सुगर बढेर एकै पटक ४ सय पुग्यो। सुगर बढ्दै गएपछि उनको मनमा डर झनै बढ्दै गयो। ‘म पहिले नै उच्च जोखिममा थिएँ। त्यसमाथि सुगर झन् डर बढ्यो। नेपालमा धेरैजस्तो सुगर भएका कोरोना संक्रमितको मृत्यु भइरहेको थियो। त्यसैले अब बाँच्दिन्न नै लाग्यो’, उनले संक्रमित हुँदाका बेला मनमा उब्जिएका भावना सुनाए।
सुगर बढेपछि अस्पतालका चिकित्सक डा दीपक मल्लले औषधि दिए। सुगर नियन्त्रण गर्न इन्सुलिन लगाइदिए। औषधि दिइसकेपछि विस्तारै सुगर पनि नियन्त्रण हुँदै गयो। त्यसपछि विस्तारै उनको स्वास्थ्यमा सुधार भइरहेको थियो। त्यति नै बेला उनका बुबा बिरामी परे।
हरेक दिन बिहान कोरोना संक्रमितको मृत्युको खबर पढ्दा भने उनलाई निकै बिचलित बनाउँथ्यो। भन्छन् - 'मलाई मृत्युको खबरले निकै बिचलित बनायो। कुन दिन आफू पनि त्यही संख्यामा पर्छुकी भन्ने डर हुन्थ्यो। तर म मृत्युको मुखबाट बाँचेर फर्केको छु। मेरो उपचारमा खटिने सबैलाई विशेष धन्यवाद दिन्छु।'
छोराको पिरले बुबाको मृत्यु
तिवारी संक्रमित भएर अस्पतालमा भर्ना भएका थिए। तर उनका बुबा भने छोराको अवस्था गम्भीर भएरै अस्पतालमा भर्ना भएको होला भनेर चिन्ता गर्न थाले। छोराको स्वास्थ्यप्रति चिन्तित उनका बुबाले आफूले खानुपर्ने नियमित औषधि पनि नखाने र ज्वरो आउँदा पनि हेलचेक्र्याईं गरेर अस्पताल जान मानेनन्।
छोराको पिरले आफ्नो स्वास्थ्यको हेलचेक्र्याईं गर्दै गएपछि उनका बुबालाई अस्पतालको आइसियुमा नै भर्ना गर्नुपर्यो।
उपचारपछि उनको बुबाको स्वास्थ्यमा केही सुधार आयो। तिवारीले बुबासँग फोनमा कुरा पनि गरेका थिए। बुबाले उनलाई ‘म ठिक छु तिमी पनि छिटो निको भएर घर आउनू’ भन्नुभयो। असोज २५ गते साँझ बुबासँग कुरा भएपछि तिवारी ढुक्क भएर छिट्टै निदाए। राति ९ बजे औषधि खान उठ्दा उनको काकाले फोन गरेका रहेछन्। बुबाको स्वास्थ्य बिग्रिएकोले भेन्टिलेटरमा राख्नुप¥यो भन्दै। २५ गते राति उपचारका क्रममा उनका बुबाको मृत्यु भयो।
‘बुबा ब्लड क्यान्सरको बिरामी हुनुहुन्थ्यो। नियमित औषधि सेवन गर्ने, नियमित चेकजाँच गर्ने भएकोले उहाँको अवस्था सामान्य थियो। ‘तर म कोरोना संक्रमित भएकैले बुबालाई बढी चिन्ता भयो। उहाँले नियमित खानुपर्ने औषधि खाना छोड्नुभयो,’ उनले मलिन स्वरमा भने।
बुबाको अन्तिम संस्कार गर्न पाइनँ
परिवारका एक्ला छोरा हुन् तिवारी। कोरोना भाइरसबाट संक्रमित भएकोले उनले बुबाको अन्तिम संस्कार समेत गर्न पाएनन्। ‘म कस्तो अभागी छोरो! आफ्नो बुबाको मृत्युको कारण म आफैं बनँे अनि अन्तिम समयमा पनि बुबासँगै बस्न सकिनँ’, उनले भावुक हुँदै भने, ‘परिवारको एक्लो छोरो, आजका दिनसम्म बुबासँगै बसें। तर अन्तिम समयमा बुबाको मुख पनि हेर्न पनि पाइनँ।’ बुबाको अन्तिम संस्कारमा समेत सहभागी हुन नपाएको उनलाई निकै पीडा महसुस हुन्छ।
१५ दिनको अस्पताल बसाइपछि २६औं दिनमा तिवारीको कोरोना रिपोर्ट नेगेटिभ आयो। अहिले उनी कोरोनामुक्त भइसकेका छन् तर पनि स्वास्थ्य कमजोरीले गर्दा भित्र–बाहिर गर्न पनि निकै गाह्रो हुने गरेको उनी सुनाउँछन्।
सामान्य होइन कोरोना
कतिपय व्यक्तिले कोरोना भाइरसलाई सामान्य रुपमा लिने गरेका छन्। उनीहरु कोरोना केही होइन भन्दै आएका छन्। तर तिवारी कोरोना भाइरसलाई सामान्य रुपमा नलिन आग्रह गर्छन्। यद्यपि, कोरोना जटिल नभए पनि संक्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।
उनी भन्छन्, संक्रमित व्यक्ति भएका कारणले गर्दा मैले बुबाको अन्तिम संस्कार पनि गर्न पाइनँ। अहिले सम्झँदा पनि पीडा हुन्छ। म मृत्युको मुखमा पुगेर फर्केको मान्छे हुँ। त्यसैले कोरोनालाई कसैले पनि सामान्य रुपमा नलिनुहोला।’