दार्चुला- मार्मा गाउँपालिकामा अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरिएको छ। कोरोना भाइरसबाट सङ्क्रमितहरुको उपचार गर्नका लागि गाउँपालिकाले लटिनाथमा निर्माण गरेको पाँच श्ययाको कोभिड–१९ कोरोना अस्पतालको गाउँपालिका अध्यक्ष जमनसिंह धाँमीले उद्घाटन गरे।
स्वास्थ्य मन्त्रालयले देशभर रहेका सबै स्थानीय तहहरुमा कोभिड–१९ कोरोना अस्पताल बनाउनका लागि बजेट विनियोजन गरेपछि मार्मा गाउँपालिकाले अस्पतालको निर्माण गरेको हो। जिल्लाका छ वटा स्थानीय तहले अझै अस्पतालको निर्माण गर्न सकेका छैनन्। मार्माले भने अस्पतालको सम्पूर्ण कार्य पूरा गरी आइतबारदेखि औपचारिकरुपमा सेवा सञ्चालनमा ल्याएको अध्यक्ष जमनसिंह धाँमीले जानकारी दिए।
गाउँपालिकाले वडा नं २ लटिनाथ स्वास्थ्य चौकीमा कोभिड अस्पताल बनाएको हो। अस्पतालमा अक्सिजनसहितको औषधिकोसमेत व्यवस्था गरिएको छ। अस्पतालमा गाउँपालिकाले एक जना डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी भर्ना गरेको छ।
सङ्घीय सरकारले अस्पताल नभएका दार्चुलाका सात वटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि रु १० लाख बजेट पठाइसकेको छ। दार्चुला जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा पाँच श्ययाका अस्थायी कोभिड अस्पताल निर्माणका लागि सङ्घीय सरकारले बजेट पठाएको स्वास्थ्य कार्यालयका दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए। जिल्लाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाबाहेकका सबै स्थानीय तहमा पाँच श्ययाका अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
अस्थायी कोभिड अस्पातल सञ्चालनका लागि आएको रु १० लाख बजेटमध्ये स्थानीय तहले पाँच लाख श्ययालगायतका सामग्री खरिदमा खर्च गर्नुपर्नेछ भने रु ५० हजार बराबरको औषधि खरीद गर्नुपर्नेछ। यस्तै रु चार लाख ५० हजार जनशक्ति परिचालनमा खर्च गर्नुपर्नेछ। यी अस्पताल तीन महिनाका लागि सञ्चालन गर्नुपर्ने भएकाले स्थानीय तहमै भएका स्वास्थ्य संस्थामा यी अस्पताल सञ्चालन गर्नुपर्ने बताइएको छ। रासस