- रामहरि अधिकारी
डिसेम्बर २०१९ मा पहिलो पटक चीनको वुहानमा भेटिएर संसारभर फैलिएको नोबेल कोरोना नामको भाइरसद्वारा सिर्जित कोभिड–१९ ले हालसम्म करोडौँ मानिसलाई संक्रमित बनाइसकेको छ। कोरोना संक्रमणबाट विश्वभर लाखौँ मानिसले ज्यान समेत गुमाइसकेका छन्।
यसले विश्वका अन्य मुलुकजस्तै नेपालको पनि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योग, व्यापारलाई सम्हालिनै नसक्ने गरी असर गरेको छ भने समग्र अर्थतन्त्रमा खर्बौं रुयैयाँ बराबरको क्षति पु¥याइसकेको छ।
यसका कारण संक्रमित हुने बिरामीको पीडा, ज्यान गुमाउने परिवारको शोक, व्यवसाय डुब्नेहरु उद्यमीहरुको व्यथा, बेरोजगार हुने युवाको दुःख, विद्यालय जान नपाउने बालबालिकाको मनस्थिति, अस्पतालमा सेवा नपाउने गर्भवती र सुत्केरी लगायतका लाखौँ नेपालीका हजारौँ कथा लेखिन सक्छन्।
तर, हरेक बादलमा चाँदीको घेरा हुन्छ भनेझैं कोभिड–१९ का महामारीले पनि केही अवसर ल्याएको छ। हामीले ती अवसर खोज्ने र यसले थिलथिलो पारेको सामाजिक जनजीवन तथा अर्थव्यवस्थालाई मजबुत बनाउनेतर्फ अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो।
जसरी कोभिड–१९ ले एउटा व्यक्ति, परिवार, समाज हुँदै सिंगो देशलाई जसरी असर गरेको छ, त्यसरी नै यसले हरेक क्षेत्रलाई केही न केही अवसर छोडेको छ।
नेपालमा संघीय व्यवस्था आइसकेपछि तीन तहमा गरेर ७६१ वटा सरकार छन् र तीन वटै तहका हरेक सरकारले आफ्ना जनताको स्वास्थ्य रक्षा गर्न र कोभिड–१९ को असर कम गर्न केही न केही प्रयास गरेका छन्। अब कोभिड–१९ को महामारी ल्याउने कोरोना भाइरस एक किसिमले हाम्रो समाजको अकाट्य सत्यको रुपमा स्थापित भएको छ। हाम्रो अनिच्छाका बाबजुद कोरोनासँगै बाँच्नुपर्ने भएकोले यसले ल्याएका सकारात्मक पक्षहरुको उपयोग गर्दै यसलाई अवसरमा बदल्नु पर्नेछ। यसका लागि विगतमा हामीले गरेका कमजोरीलाई पहिचान गरेर भविष्यमा ती गल्तीहरु नदोहोरिने काम पनि गर्नुपर्छ।
भन्दा नमिठो लागे पनि हाम्रो संघीय सरकारको तर्फबाट स्वास्थ्य क्षेत्रमा ध्यान नपुगेकै हो र यस्ता खालका महामारी नियन्त्रणको लागि आवश्यक तयारी गर्न चुकेकै हो।
चीनको वुहानमा डिसेम्बर २०१९ मा कोभिड–१९ को पहिलोे संक्रमित देखिए पनि नेपालमा भने पहिलो संक्रमित झन्डै एक महिनापछि देखियो। त्यति बेलासम्म विश्वमा कोरोना रोकथामका धेरै उपायको खोजी भइसकेको थियो। हामीलाई यति बेलासम्म कोभिड–१९ विरुद्ध तयारी गर्न झन्डै तीन महिनाको अतिरिक्त समय प्राप्त भएको थियो।
चीनबाट कोभिड–१९ युरोपका विभिन्न देश हुँदै अमेरिका पुगेर तबाही मच्चाउन थालिसक्दा पनि हामी सामान्य स्थितिमै थियौँ। हामीले त्यति बेलासम्म केकति तयारी गर्न सक्यौँ भनेर समीक्षा गर्ने त आफ्नो ठाउँमा छँदैछ, तर अब हामीले यसबाट केके सिक्ने र के कुरालाई अवसरमा बदल्ने भनेर सोच्नु जरुरी छ।
हामीलाई पहिलो सिकाइ भनेको स्वास्थ्यलाई विकासको अत्यन्त महत्वपूर्ण क्षेत्र ठानेर यसका लागि आवश्यक स्रोत–साधनहरुको यथोचित व्यवस्था गर्नुपर्छ भन्ने हो। र, यसका लागि हामीसँग मुलुकका के धनी के गरिब हरेक नागरिकले सहज तरिकाले स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेगरी अस्पताल र अन्य विभिन्न तहका स्वास्थ्य संस्थाको स्थापना गर्ने, त्यहाँ आवश्यक पर्ने चिकित्सक, दरबन्दी अनुसारका स्वास्थ्यकर्मी खटाउने त्यहाँ आवश्यक मात्रामा उपकरणको व्यवस्था साथै स्वास्थ्यकर्मीको सुरक्षाको लागि सुरक्षा कवचहरुको व्यवस्था हुनुपर्छ।
साथै उपलब्ध जनशक्तिलाई आवश्यक मात्रामा तालिमको व्यवस्था हुनुपर्छ। हरेक स्वास्थ्य संस्थाको व्यवस्थापकीय क्षमतालाई चुस्त दुरुस्त बनाउने र गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति गराई हरेक खालका सम्भावित महामारीको लागि सम्पूर्ण राज्य नै हरदम तयार भएर बस्नुपर्छ।
यसका लागि हाम्रो दीर्घकालीन र अल्पकालीन योजना र रणनीतिहरुले त्यो दिशा पक्डिनु पर्छ। हामीसँग विद्यमान स्वास्थ्य समबन्धी नीति, रणनीति र योजनाहरुको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गरिनु पर्छ।
यसका साथै स्वास्थ्यका हरेक कार्यक्रमहरुमा हरेक समन्धित हरेक निकायहरुसँग प्रभावकारी रुपमा समन्वय र सकहार्य गर्ने र कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्ने आदि कार्य गर्नु पर्दछ। विपत्ति रोकथामका लागि सुदृढ खालको तयारी तथा प्रतिकार्य योजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने काम पनि गर्नुपर्छ।
यसरी स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर काम गर्दा कोभिड–१९ ले अहिलेसम्म गरेको विनाशबाट पाठ सिक्दै यसबाट हुने थप क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा आउन सक्ने यस्तै अन्य महामारीको विरुद्ध कुशलतापूर्वक काम गरेर जनधननको क्षतिलाई जोगाउने अमूल्य अवसर यसले दिएको छ।
यी कामहरु गर्ने जिम्मेवारी संघ सरकारको मात्रै होइन, बरु यसको लागि प्रदेश सरकार र स्थानीय सरकारहरुको पनि जिम्मेवारी हो।
प्रदेश सरकारको अभ्यास नेपालमा नयाँ छ। प्रदेशहरुले आफ्नो भूमिका प्रष्ट देखाउन नसक्दा आम जनतामा प्रदेशको औचित्यप्रति सन्देह छ। यतिबेला प्रदेशले आफ्नो अर्थपूर्ण उपस्थिति देखाएर जनतामा रहेको सन्देहलाई निमिट्यान्न पार्नु पर्ने अवस्था छ। रोग र भोकबाट बच्नको लागि राज्यको खोजीमा रहेका लाखौँ नागरिकलाई स्वस्थ जीवनको प्रत्याभूति दिएर जनताको विश्वास जित्न सकिन्छ।
यतिबेला गरेका हरेक नतिजायुक्त कामले आम जनतामा राम्रो छाप छाड्छन्। स्वास्थ्य सम्बन्धी नीति, ऐन नियमावली, कार्यविधि, दीर्घकालीन र अल्पकालीन योजना बनाई काम गर्ने र आम जनताको बीचमा राम्रो विश्वाश जित्ने अवसर सातै वटा प्रदेशलाई कोभिड–१९ ले उपलब्ध गराएको छ।
हामीसँग तल्लो तहमा जनताको अत्यन्त नजिक रहेर सरकार सरह काम गर्न सक्ने गाउँ, नगर, महानगर र महानगरपालिका गरी ७५३ वटा स्थानीय तह छन्। उनीहरुले कोभिड–१९को नियन्त्रणमा सक्दो मिहिनेत गरेका छन्। कोभिड–१९ विरुद्ध लड्दालड्दै स्थानीय तहका कतिपय जनप्रतिधिहरु आफैँ संक्रमित हुनु परेको छ भने कतिपयको त दुखद रुपमा ज्यानै गइसकेको छ। तर पनि उनीहरुले जनताबाट जस पाउन सकेका छैनन्।
तसर्थ हरेक स्थानीय तहलाई पनि अझै राम्रो काम गरेर आफ्नो गुमेको साख फिर्ता ल्याउने र आफ्नो प्रभाव आम जनतामा स्थापित गर्ने सुवर्ण अवसर छ।
यस पटकको वार्षिक योजना चक्र सुरु हुने बेला कोभिड–१९ को संकट नेपालमा सुरु भएकोेले गर्दा जनप्रतिनिधिहरु हरेक वस्तीमा पुग्ने अवस्था भएन। स्थानीय तहहरु आफँै नयाँ भएकोले कतिपय तहमा महामारीको प्रतिकार्य योजना बनेकै थिएन भने बनेकाहरुमा पनि सही रुपमा कार्यान्वयन गर्ने अनुभवको कमी थियो। त्यसकारण स्थानीय तहले योजना प्रक्रियामा महामारीलाई राम्र्रोसँग सम्बोधन गर्न सकेनन्।
यस्तै वाह्य मुलुकहरुबाट कति मान्छे स्वदेश फर्किँदै छन् भन्ने आकलन गर्न, आएकालाई राम्रोसित क्वारेन्टाइनमा राख्न र सम्भावित संक्रमितहरुको परीक्षण र उपचार व्यवस्था प्रभावकारी बनाउन नसक्दा र त्यसको लागि उपलब्ध साधन–स्रोतको पहिचान र परिचालन तथा सहयोगी संस्थाहरुको समन्वय गर्न नसक्दा अपेक्षाकृत रुपमा कोभिड–१९ नियन्त्रणमा स्थानीय तहहरुको भूमिका बलियो हुन सकेन। यस्तै स्थानीय तहमा आवश्यक स्वास्थ्य सम्बन्धी ऐन, नियमावली वा नीति, कार्यविधि नहुँदा पनि उनीहरुले प्रभावकारी रुपमा महामारी विरुद्ध लाग्न कठिन भयो।
त्यसैले अब यो आवमा जुनसुकै महामारी विरुद्ध लड्ने गरी प्रभावकारी योजना बनाउने, स्रोतको यथोचित व्यवस्था गर्ने, कार्यान्वयन गर्ने र स्थानीय तहहरुको उपस्थिति आम जनतामाझ बलियो र भरोसायुक्त बनाउने अवसर स्थानीय तहहरुलाई प्राप्त भएको छ।
कोभिड–१९ को संकट सुरु भएपछि इन्टरनेट लगायतका सञ्चार साधनहरुको प्रयोग व्यापक भएको छ र यसको प्रयोग गर्ने जनताको संख्या पनि व्यापक रुपमा बढेको छ। विद्यालयहरुमा कक्षा सञ्चालन गर्नदेखि विभिन्न किसिमका बैठक गर्न र कार्यालयको काम गर्न समेत इन्टरनेटको प्रयोग व्यापक मात्रामा बढेको छ।
तर, देशका अनेकौँ गाउँहरुमा अझै विद्युतीकरण भएको छैन। आम विपन्न जनता इन्टरनेट प्रयोग गर्न सक्ने अवस्थामा छैनन् र उनीहरुसँग त्यो खालको मोबाइल वा ल्यापटप उपलब्ध हुने कुरा भएन। जसले गर्दा कोभिड–१९ को संकटका माझ आफ्नो जनजीवनलाई सरल तरकाले अगाडि बढाउन सक्ने जनताको संख्या धेरै कम छ।
तसर्थ, आम ग्रामीण वस्तीहरुमा विद्युतीकरण गर्ने, आम जनतालाई इन्टरनेटको पहुँचमा पु¥याउने र मोबाइल वा ल्यापटप नभएकै कारण प्रविधिको प्रयोग गर्न नसकी सेवाको उपभोगबाट जनता विमुख हुने अवस्थाको निराकरण गरी प्रविधि उपभोगको क्षेत्रमा हुने विभेदलाई हटाउने र आमजनतालाई कोभिड–१९ ले पारेको प्रभावबाट धेरैभन्दा धेरै मात्रामा मुक्त गराउने अवसर स्थानीय तहहरुलाई प्राप्त भएको छ।
संघीय व्यवस्थाको प्रादुर्भावपछि विद्यालय, स्वास्थ्यसंस्था, कृषि, पशु जस्ता आम जनसरोकारका संस्थाहरु स्थानीय तहहरुको मातहत भएकोले प्रविधिको प्रयोगबाट बढीभन्दा बढी बालबालिकालाई शिक्षा प्राप्त गर्ने वातावरण बनाउनु, हरेक बिरामीलाई स्वास्थ्य सेवा प्राप्त गर्ने व्यवस्था मिलाउनु र सरकारी सेवा हरेक जनतालाई प्राप्त गर्न सक्ने बनाउने अवसर पनि स्थानीय तहहरुलाई प्राप्त भएको छ।
यस्तै जनताको सेवा गर्ने सरकारी वा गैरसरकारी वा निजी संघ–संस्थाहरुलाई पनि बढीभन्दा बढी प्रविधिको प्रयोग गरी आम जनतालाई दिने सेवा निरन्तर गर्ने वा अझै प्रभावकारी रुपमा सेवा दिने अवसर प्राप्त भएको छ।
यस्तै समुदायलाई आफ्नो क्षेत्रभित्रका जनतालाई स्वस्थ बानी, व्यवहार अपनाउन उत्प्रेरित गर्ने, रोगको जोखिम कम गर्ने र रोगीहरुलाई समुदायबाट बढीभन्दा बढी सहयोग उपलव्ध गराउने र विपन्न र कमजोर परिवारहरुको रक्षा गर्दै सामाजिक मूल्य र मान्यताको जगेर्ना गरेर मानवीयता जोगाउने अपूर्व अवसर प्राप्त भएको छ।
यस्तै परिवारले पनि आफ्ना सदस्यहरु खासगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी वा बिरामीको सुरक्षा गरी असल परिवारको नमुना प्रदर्शन गर्ने अवसर प्राप्त भएको छ।
हरेक व्यक्तिलाई पनि यो महामारीले एक किसिमको अवसर दिएको छ। आफ्नो स्वास्थ्यको ख्याल गर्दै अनुशासनमा बसेर आफ्नो नियमित काम गर्ने र आफ्नो प्रगतिलाई अझै मजबुत बनाउने अवसर हरेक नागरिकलाई प्राप्त भएको छ।
यस्तै विदेश वा स्वदेशकै सहरबजारमा रोजगारी खोसिने जाँगरिला युवाहरुको लागि आफ्नो गाउँघरमै फर्केर आफूले सिकेको सिपको प्रयोग गर्दै गाउँघरका डाँडापाखालाई हराभरा बनाउने र फरक खालको रोजगारी सुरु गर्ने अभूतपूर्व मौका प्राप्त भएको छ।
कोभिड–१९ को महामारीको चिन्तामात्र गरेर अकर्मण्य नबसी आफूलाई प्राप्त अवसरको भरपुर प्रयोग गर्दै अगाडि बढेमा हामी कोभिड–१९ को दुष्प्रभावलाई पराजित गर्न सफल हुनेछौँ।
(अधिकारी जनस्वास्थ्यविद् हुन्।)