काठमाडौं - नेपाल स्त्री रोग तथा प्रसुती विशेषज्ञ समाज (नेसोग) को वरिष्ठ उपाध्यक्षमा डा सरोजा कार्की पाण्डे निर्वाचित भएकी छिन्।
बिहीबार भएको अनलाईन निर्वाचनबाट अत्यधिक मत प्राप्त गर्दै डा पाण्डे नेसोगको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी हुन्। उनले वरिष्ठ उपाध्यक्षका प्रतिद्धन्द्धी डा गेहनाथ बराललाई पराजित गरेकी हुन्। डा पाण्डेले २ सय ७५ र डा बरालले १ सय ५१ मत प्राप्त गरेका थिए।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएसँगै डा पाण्डे अर्को कार्यकालको अध्यक्षमा स्वतः निर्वाचित हुने नेसोग निर्वाचन समितिले जनाएको छ। यो सँगै वरिष्ठ उपाध्यक्षको पदमा रहेका डा गणेश दंगाल हाल स्वतः नेसोगको अध्यक्षमा निर्वाचित भएका छन्।
उपाध्यक्षमा डा चन्द्रा श्रीवास्तवलाई पराजित गर्दै डा पदम राज पन्त निर्वाचित भएका छन्। डा पन्तले २ सय ७० र डा श्रीवास्तवले १ सय ६० मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत डा अमिरबाबु श्रेष्ठले जानकारी दिए।
अन्य पदका पदाधिकारीहरु भने निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा डा यम प्रसाद द्धा, सहमहासचिवमा डा सपना ( अमात्य ) वैद्य, सामाजिक सांस्कृतिक वैज्ञानिक सचिवमा डा स्मृती मास्के, सामाजिक सांस्कृतिक वैज्ञानिक सह सचिवमा डा ऋजुता जोशी, कोषाध्यक्षमा डा सन्देश पौडेल सह कोषाध्यक्षमा डा ज्योत्सना शर्मा निर्विरोध निर्वाचित भएका छन्।
यस्तै सदस्यहरुमा डा अतित पौडेल, डा आस्था श्रेष्ठ, डा किर्तिपाल सुवेदी, डा श्रीप्रसाद अधिकारी, डा पुजा पौडेल र डा स्निग्धा राई निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ।
५ सय ६४ मतदाता रहेको नेसोगको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत डा श्रेष्ठले जानकारी दिए।