काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अमेरिकी सरकारले एक सय थान भेन्टिलेटर सहयोग गरेको छ।
कोरोना संक्रमण भई गम्भीर भएका बिरामीलाई भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने हुन्छ। तर नेपालमा पर्याप्त भेन्टिलेटर नहुँदा सबै गम्भीर बिरामीले उपचार पाउन सकेका छैनन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अमेरिकी राजदूत ¥यान्डी बेरीले शुक्रबार मन्त्रालयमा १ सय थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।
स्वास्थ्यमन्त्री ढकालले भेन्टिलेटर सहयोगका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई धन्यवाद दिँदै अति आवश्यक स्वास्थ्य संस्थामा ती भेन्टिलेटर प्रयोग गर्ने बताए।
नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै भेन्टिलेटर र आइसियुमा उपचार गराउने गम्भीर संक्रमितको संख्या पनि बढेको छ।
स्वास्थ्य मन्त्रालयको बिहीबारको तथ्यांक अनुसार ४६० जना संक्रमित भेन्टिलेटर र आइसियुमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र ३ सय ७३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
नेपालमा बिहीबारसम्म १ हजार १८९ जना संक्रमितको मृत्यु भएको छ। तीमध्ये अधिकांश भेन्टिलेटरमा उपचार गराइरहेका गम्भीर बिरामी रहेको चिकित्सकको भनाइ छ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६४ जना आइसियु र ५८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ जना आइसियु र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा १४ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा ६९ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ८ आइसियु उपचाररत रहेका छन्।
संक्रमितको सख्या बढेसँगै भेन्टिलेटरको अभाव हुन थालेको छ। कति बिरामीले समयमा भेन्टिलेटरमा उपचार नपाउदा ज्यान गएका घटना समेत बाहिर आइरहेका छन्।
मन्त्रालयले हालसम्म सबै अस्पतालमा गरी १ हजार भेन्टिलेटर व्यवस्था गरिएको जनाएको छ। २ हजार ६सय आइसियुको व्यवस्था गरेको मन्त्रालयको दावी छ।