काठमाडौं– नेपालका छापा सञ्चारमाध्यमले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयलाई प्राथमिकता नदिने गरेको मिडिया एक्सन नेपालले गरेको एक अध्ययनले निष्कर्ष निकालेको छ। मिडिया एक्सन नेपालले तीन महिना लगाएर गरेको अध्ययनमा छापा सञ्चारमाध्यमले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयलाई प्राथमिकताका साथ प्रकाशित नगरेको निष्कर्ष निकालेको हो।
छापा सञ्चारमाध्यमले यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे कति र कस्ता समाचार सामग्री प्रकाशन गरिरहेका छन् भन्ने विषयमा साउन, भदौ र असोज महिनाका प्रतिनिधिमूलक समाचारपत्र समावेश गरिएको थियो।
अध्ययनमा समावेश गरिएका पत्रपत्रिकाले ०.५८ प्रतिशत मात्र यौन तथा प्रजनन स्वास्थ्यबारे समाचार सामग्री प्रकाशित गरेको पाइएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताए।
उक्त अवधिभर ४ हजार ७ सय ९८ समाचार सामग्री प्रकाशित भएका थिए। जसमध्ये यौन तथा प्रजनन स्वास्थ्यबारे २८ वटा मात्रै समाचार प्रकाशित भएको पन्तले जानकारी दिएका छन्।
उक्त अध्ययनमा कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिक, गोरखापत्र दैनिक, ब्लास्ट दैनिक, जनकपुर टुडे दैनिक, थाह सन्देश दैनिक, समाधान दैनिक, युग आह्वान दैनिक र पश्चिम टुडे दैनिकलाई समावेश गरिएको थियो।
धेरैजसो प्रकाशित भएका समाचार सामान्य सूचना प्रदान गर्ने किसिमका मात्रै भएकाले सञ्चारमाध्यमले यसका मुद्दालाई पनि प्राथमिकता दिनुपर्ने पन्तको भनाई छ।
मिडिया एक्सन नेपालले पत्रकारहरुका लागि कोभिड १९ महामारीका सन्दर्भमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी मिडियाको क्षमता अभिवृद्धिसम्बन्धी दुईदिने तालिमको आयोजना समेत गरेको थियो।