कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए।
कोरोना सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बसेका मन्त्री सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको धामीले बताए। यसअघि मन्त्री सुवेदीका अर्का स्वकीयसचिव र दुई सुरक्षा गार्डमा समेत कोरोना सङ्क्रमण देखिएकोको थियो।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह कोरोना सङ्क्रमित भई हाल काठमाडौँमा उपचाररत छन्। गत कात्तिक १५ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका स्वकीय सचिव जङ्गबहादुर विकले मन्त्री शाहको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए।