डा सुरेश तामाङ
सन्दर्भ
विगत ८ महिनादेखि राजधानीको चार भन्ज्याँङ काटेको थिइनँ। महामारीका बाबजुद यसपालिको हिउँदमा पनि देश दर्शन गर्ने मौका मिल्यो। खासै रहर पनि थिएन। कोरोनाको कहरमा पनि काम विशेषले यात्रा गर्न बाध्य भएँ। कोरोनापछिको अवस्था कस्तो होला भन्ने मेरो मनमा कौतुहलता भने थियो।
आफू स्वास्थ्य क्षेत्रमा नै कार्यरत भएकोले थप सतर्कता पनि आवश्यक थियो। पूर्वमा झापा, इलाम, पाँचथर र ताप्लेजुङदेखि पश्चिममा डडेल्धुरा, डोटीको दिपायल र सिलगढीसम्मको यात्रा गर्न प¥यो। यस क्रममा राजधानी बाहिरको पछिल्लो अवस्था भोग्न र देख्न पाइयो। यस यात्राको दौरान देखे–भोगेको र अवलोकन गरेको आधारमा एकातिर आमनागरिकमा जनस्वास्थ्यप्रतिको सतर्कता कम हुँदै गएको तर अर्कोतर्फ कारोनालाई सहन गरेर जीवन चलाउनु परेको अवस्था महसुस भयो।
बाध्यता हो वा सरकारको अवज्ञा, जनता निस्फिक्री रुपमा आफ्नो दैनिकीमा देखिए। तर स्वास्थ्यकर्मी, विमान कर्मचारी तथा सुरक्षाकर्मीहरु भने चनाखो देखिए। सार्वजनिक यातायातकर्मी, चालक, तीर्थयात्री तथा अन्य सरोकारवालाहरु भने खासै सतर्क देखिएनन्। जनस्वास्थ्यका मापदण्ड कायम गर्न कठिन देखियो। तर आम नागरिकको जनजीवनमा केही सहजताको भान भयोे।
अवलोकन र अनुभूति
काठमाडौंदेखि भद्रपुरसम्म हवाइजहाजमा यात्रा भयो। यस यात्राको क्रममा धरै कुराहरु अवलोकन र मनन गर्ने मौका मिल्यो। काठमाडौंको आन्तरिक टर्मिनलमा सुरक्षाका प्रायः उपायहरु कायम गर्ने प्रयास भएका थिए। तर टर्मिनलभित्र निकै भीडभाड देखिन्थ्यो। उडान कर्मचारी र सुरक्षकर्मीहरु मास्क र कतिपयले फेससिल्ड समेत लगाए पनि सिथिल देखिन्थे। टर्मिनलमा बसपार्क जस्तो भीडभाड थियो। धेरै कुराहरु अव्यवस्थित थिए। लामो लाइनमा भौतिक दूरीको पूर्ण रुपमा बेवास्ता थियो। प्रवेशद्वार बाहिर नै ज्वरो मापन गरियो। तर काउन्टरमा जाने क्रममा लामबद्धता र दूरी कायम थिएन।
विमानमित्र भौतिक दूरी कायम गर्न पनि सम्भव थिएन। विमानभित्र हरेक सिटमा यात्री सवार थिए। भाइजर वा फेस सिल्ड लगाए पनि नजिकै बस्ने बाध्यता थियो। यात्रीहरुमा बालबालिका र वृद्धवृद्धाहरु थिएनन्। काठमान्डौं र धनगढीभन्दा तुलनात्मक रुपमा भद्रपुर विमानस्थलमा लाइन र भौतिक दूरी कायम थियो। प्रवेशद्वारमा र विमानतर्फ जाने बेलामा समेत ज्वरो मापन गरिको थियो। तर ३ पटकसम्म परिचयपत्र माग्दा यात्रीले झन्झट मान्ने अवस्था थियो। सुरक्षा जाँचका लागि भारतीय र अन्य देशका नागरिक भएमा छुट्टै लाइनमा राख्ने व्यवस्था भए स्वदेशी यात्रुले केही राहत पाउने थिए।
सडकमा सार्वजनिक र निजी यातायात कम चले पनि भौतिक दूरी कायम थिएन। भद्रपुर, चारआली, बुद्धशान्ती पालिकाहरुमा चहलपहल नै थियो। इलाम र पशुपतीनगरदेखि काठमान्डौसम्मका रात्रिबस सञ्चालनमा थिए। कन्याममा पर्यटकरुहको भीड थियो। पहिरन भाडामा लिइ सजिएर तस्बिर खिच्ने अनि घोडा चढन मान्छेहरु अत्तालिएका थिए। पाथिभराको दर्शन गर्ने भक्तजनहरु बोकेका सवारी साधानहरु पनि धेरै थिए। खासगरी शनिबार पूजा गर्नका लागि शुक्रबार नै माथितिर जाने चलन रहेछ।
आम रुपमा मानिसहरुको नियमित चहलपहल र दैनिकी सामान्य थियो। इलामको राँके, पाँचथरको फिदिम, ताप्लेजुङको फुङलिङ र सुकेटार बजार नियमित थिए। जताततै मानिसहरुको भीड नै थियो। थोरैले मात्र मास्क लगाएको पाइयो। तर बजारमा कोभिडको बारेमा जनचेतनाका लागि माइकमा रेडियो बजाएको पनि सुनियो। होटेलका कर्मचारीहरु मास्कमा थिए। तर सामान्यतः ग्राहकहरुले बेवास्ता गरेको पाइयो। संयोग भनौं, पछिल्ला दिनमा देशका विभिन्न ठाउँमा नारा–जुलुस भइरहेका छन्। पश्चिम धनगढी र पूर्व झापाको भीडभाड हेर्दा लाग्छ, अब जनतामा कोरोनाको कुनै डर छैन।
त्यसैगरी पश्चिम धानगढीको उडान र डोटी सिलगढीसम्मको सडक यात्रामा पनि थप चित्रहरु देख्न पाएँ। यस क्रममा पनि आम नागरिकमा जनस्वास्थ्यप्रतिको सतर्कता कम भएको हो कि भन्ने महसुस भयो। धनगढी, अत्तरिया, सहजपुर, अमरगढी, दिपायल र सिलगढी बजारहरु पूर्णतः खुलेका थिए। स्थानीय विद्यालयहरु सञ्चालन भइरहेका थिए। सडकमा विभिन्न जिल्लाबाट सञ्चालित बस सेवाहरु देखिए। सामान्यतः जनता आफनो दैनिकीमा देखिए। सडक मर्मतदेखि अन्य विकास निर्माण कार्यहरु भइरहेको पाइयो। आम जनस्तरमा पनि मानिसले प्रयोग गर्ने चर्पी, पिउने पानीका धारा, होटेल रेस्टुरेन्टको अवस्था नाजुक नै थियो। तर सामान्यतः खेती गर्ने, बाली भित्र्याउने किसान र घरभित्र काम गर्ने परिवारका लागि खास मतलब पनि थिएन तर सार्वजनिक रुपमा बाहिर निस्कँदा त सतर्क भएकै राम्रो हुन्थ्यो।
पश्चिम नेपालमा सतर्कता कम, मास्कको प्रयोग पनि न्यून र मानिसहरु बढी नै निश्चिन्त देखिएका थिए। दिपायलमा रातभर पार्टी गरेको भेटियो। मंसिर महिनामा लगन धेरै भएकोले विवाहका लागि हुलका हुल जन्ती सवार साधनहरु पनि ठूलो संख्यामा देखिएका थिए।
यसरी कोभिडसँगको लडाइँमा स्वास्थ्यकर्मी लगायत आम नागरिकले सहन र सम्झौता गरेको बुझियो। यसलाई वैकल्पिक जीवनचर्याको रुपमा लिइएको पाइयो। विगतमा धुवाँधुलोबाट बच्न र चिकित्सकहरुले शल्यक्रियाको क्रममा मात्र लगाउने सर्जिकल मास्क पनि सर्वसाधारणको गहना र सुरक्षाको आधारभूत वस्तु बन्न लागेको छ। कोरोना भाइरसलाई सामान्य रुपमा ग्रहण गरिसकिएको छ। तर होटल, अस्पताल र विभिन्न स्थलमा हात धुने साबुन पानी, स्यानीटाइजरको व्यवस्था र प्रयोग बढेको छ। कतिपय पिसिआर सकारात्मक आई ठिक भइसकेका सहकर्मी र स्वास्थ्यकर्मीहरु सँगै खाने, बस्ने, यात्रा गर्ने र काम गर्ने अवस्था छ।
कोरोनाले जतिसुकै आर्थिक, सामाजिक र मानवीय प्रभाव पारेको भए पनि आम रुपमा यसलाई स्वीकार्नुको विकल्प छैन। कर्मचारी वा नागरिकहरुले सकारात्मक रुपमा यसप्रति सतर्कता अपनाउँदै आफ्नो दैनिकी र कामकाज गर्नु परेकै छ। तर यसमा मनोवैज्ञानिक र सामाजिक सहयोग भने आवश्यक छ। कोरोना कालमा स्वास्थ्य लगायत अन्य सरकारी कर्मचारीहरुमा पनि एक खालको शिथिलता आएको हो कि भन्ने लाग्छ।
अस्पतालहरुले सेवा दिइरहेका थिए। कतिपय अस्पतालका नियमित सेवा र गतिविधिहरु अझै प्रभावित छन्। तर अस्पतालले गर्न नसकेको हरेक कामको दोष कोरोनालाई दिएर पन्छिन पनि त भएन। यसरी कतिपय सरकारी अस्पतालमा आउने बिरामीको संख्या नै कम भएको पाइयो। तर उनीहरुको नाम दर्ता, परीक्षण, उपचार र देखभालमा भने कमी थिएन। स्वास्थ्यकर्मीको व्यवहार र मनोविज्ञानमा पनि खासै भिन्नतारु पाइन्न। नियमित कर्मचारी, खासगरी बिरामीसँग प्रत्यक्ष जोडिने डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरु पिपिइमा भए पनि कतिपय कर्मचारीहरु मास्क समेत नलाउने गरेको अवस्था थियो। पाँचथरमा अलि सतर्कता देखिए पनि इलाम, ताप्लेजुङ, सेती प्रादेशिक अस्पताल, धनगढी र डोटी जिल्ला अस्पताल सामान्य रुपमा सञ्चालनमा थिए। तर पंक्तिकार डोटी अस्पतालमा भएकै दिन ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
जोखिम न्यूनीकरणका उपाय
विमानस्थलको प्रवेशद्वार बाहिर नै ज्वरो मापन गरिनु राम्रो कुरा हो। तर कोरोना सम्बन्धी विवरण फाराम भरेर बुझाउने औपचारिकता मात्र थियो। तर यो कन्ट्याक्ट ट्रेसिङ र संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण विषय हो। विमानभित्र पहिला जस्तो मिठाइ, पानी र बदाम उपलब्ध भएन। उडानमा दिइने पत्रिका पनि थिएन। जनस्वास्थ्यका मापडदण्ड र संक्रमण रोक्नका खातिर त्यो जायजै लाग्यो। कुनै उडानमा क्यबिनमा सामान राख्न बन्देज थियो। चर्पीको प्रयोग नगन्य यात्रीले मात्र गरेको देखियो।
स्थानीय रेडियोमा जानकारीमुलक सूचना प्रसारण भएको सुनियो। इलाम र पाँचथरमा लिम्बु भाषामा समेत कोरोना सम्बन्धी कार्यक्रम सञ्चालित थिए। पाँचथरका केही स्थानीय निकायले दसैं–तिहार र त्यसपछिका चाडबाडलाई लक्ष्य गरेर भीडभाड नगर्न सूचना टाँसिएका थिए। सुदूरपश्चिमी पहाडी जिल्लाहरुमा स्थानीय एफएम तथा भारतीय रेडियो स्टेसनबाट प्रसारण भएका कार्यक्रमहरुमा कोरोना सम्बन्धी जनचेतनाका जानकारीहरु सुनिएका थिए। विमानमा पनि यस सम्बन्धी सूचना प्रसारण गरिएको थियो।
अधिकांश स्वास्थ्यककर्मी भने पूर्ण तयारी र सतर्क थिएँ। यातायातकर्मी, चालक र यात्रीहरुमा भने कम नै सजगता थियो। भारतीय यात्रीहरुका लागि पिसिआर नेगेटिभ प्रमाणपत्र अनिवार्य रहेको थाहा भयो। तर नेपाली यात्रीहरुको हकमा पनि कोही संक्रमित भए–नभएको पत्तो पाउन कठिन थियो।
अस्पताल भ्रमणका क्रममा हरेक विभागमा गएर कर्मचारीहरुसँग कुराकानी भए पनि भरसक कुनै चिज छोइएन। त्यो जरुरी पनि थिएन। तर कर्मचारीहरुसँगको छलफल र समीक्षा बैठकमा सँगै बस्ने र खानपिन समेत भए। अध्ययनका लागि बाँडिएको सर्वेक्षण फारामहरु संकलन गरी एउटा छुट्टै खाममा राखियो। ती फारामहरु कर्मचारीले आफ्नो फाँट वा निवासमै लगेर भरी फिर्ता गरिदिएका थिए। तर संक्रमण कहाँ र कहिले हुन्छ भन्न कठिन भएकोले हरेक पटक हात धुने वा स्यानिटाइजरको प्रयोगमा जोड दिइयो। होटेलमा बस्दा आफ्नो निजी तौलिया, पानीको लागि थर्मस र अन्य सामानहरुको प्रयोगमा गरेँ।
निचोड
आमनागरिकले कोरोनालाई नयाँ सामान्य अवस्थाको रुपमा स्वीकार गरेको बुझिन्थ्यो। पूर्वी र पश्चिमी पहाडका केही जिल्लामा कोरोना सतर्कता सामान्य रहेको थियो। समग्रमा सार्वजनिक यातायात, होटल, हाट बजार प्रायः खुला देखिन्थे। अर्कोतर्फ भाइरसको बारेमा आम रुपमा सजगता कम देखिन्थ्यो। कतिपय अवस्थामा यसको लागि पूर्वतयारी, सतर्कता र जनस्वास्थ्यको मापदन्डहरुको कडाइका साथ नियमन र कार्यान्वयनमा कठिनाइ देखिन्छ।
कोरोनासँगको यो लडाँइमा सरकार र नियमनकारी निकायहरुका पनि थुप्रै कमजोरी छन्। तर आमजनता पनि यसमा जिम्मेवार छन् भन्ने मेरो निचोड हो। विभिन्न अस्पतालहरुमा हात धुने साबुन पानी र स्यानिटाइजर स्टेसनको व्यवस्था भए पनि प्रयोग कम भएको पाइयो।
कोरोनासँग अग्रपंक्तिमा रहेका कर्मचारीहरु परिवर्तित सरकारी नीति र निर्देशनले अलमलमा परेको गुनासो थियो। कतिपयले रात्रिकालीन र जोखिम भत्ता नपाएको अवस्था पनि जगजाहेर नै छ। अस्पतालहरुमा कर्मचारी र सुरक्षा सामग्री पनि अपुग नै थिए। नागरिकले पनि यदि स्वास्थ्यकर्मीलाई आदर गर्ने र आफू पनि सुरक्षित रहने भए भीडभाड नगर्नु र सधैं मास्क लगाउनु बेस हुन्छ। अझै पनि अति आवश्यक र आपतकालीन अवस्थामा बाहेक अस्पताल नजानु पनि राम्रो हुन्छ।
अन्ततः विभिन्न देशले बनाएका कोरोना भाइरस विरुद्धका खोप प्रभावकारी बन्दै गएको खबर छ। तर यो खोप हाम्रो पहुँचमा आउन अझै केही समय लाग्ने निश्चित छ। त्यसकारण सरकार र जनस्तरमा पनि थप धैर्यता र सजगता कायमै राख्न सके राम्रो हुन्छ। कोरोनासँग तर्सिएर दैनिकी नै ठप्प पार्न सम्भव भएन। त्यसैले व्यावहारिक रुपमा सुरक्षाका उपायहरु अपनाउँदै आफ्नो दैनिकीमा लाग्दा उपयुक्त हुन्छ।