नेपालगञ्ज - नेपालगञ्ज मेडिकल कलेजले कोरोना भाइरस संक्रमण भई गम्भीर भएका बिरामीको उपचार गर्न अस्पतालमा आइसियु र भेन्टिलेटरको क्षमता विस्तार गरेको छ।
अस्पतालका निर्देशक डा एम किदवाईले कोरोना परीक्षणका लागि पिसिआर मेसिन समेत सञ्चालनमा ल्याएको प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।
उनले कोरोना लगायत पिभिन्न किसिमका जटिल रोगका कारण गम्भिर अबस्थामा पुगेका बिरामीको उपचारलाई थप व्यवस्थित नेपालगन्ज मेडिकल कलेजले नेपालगञ्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा आइसियु बेड संख्या र उपकरणहरु विस्तार गरेको जानकारी दिए।
नेपालञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा २० वटा आइसियु बेड र ७ वटा भेन्टिलेटर र एउटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिन थप गरिएको छ।
नेपालगञ्ज अस्पतालमा अब ४६ आइसियु बेड र १४ भेन्टिलेटरको सुविधा भएको अस्पतालले जनाएको छ। त्यसैगरी शिक्षण अस्पताल कोहलपुरमा ३२ वटा आइसियु बेड र ४ वटा भेन्टिलेटर थप गरिएको छ।
कोहलपुरमा ५२ आइसियु बेड १० भेन्टिलेटरको सुविधा भएको छ। कोहलपुर अस्पतालमा पनि एउटा पोर्टेबल अल्ट्रासाउन्ड पनि थप गरिएको अस्पतालले जानकारी दिएको छ।
पश्चिम नेपालको रेफरल सेन्टरको रुपमा रहेको शिक्षण अस्पताल पछिल्लो समय कोभिड अस्पतालको रुपमा सूचीकृत भएपछि कोरोना संक्रमित बिरामीहरुलाई शल्यक्रिया सहितको उपचार सेवा दिदै आएको छ।
आइसियु बेड संख्या र भेन्टिलेटर थपिएसंगै सिरियस बिरामीहरुलाई गुणस्तरिय उपचार सेवा प्रदान गर्न सहज हुने अस्पतालले विश्वास व्यक्त गरेको छ।
शिक्षण अस्पतालहरुमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी र अन्य कर्मचारी सहित हालसम्म १ सय ७३ संक्रमित भइसकेका छन्। कोरोना सक्रमणका कारण कलेजका २ जना कर्मचारीको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
कोरोना संक्रमितहरुको उपचार लगायत प्रसूति सेवा, इमरजेन्सी, डाइलासिय लगायत विभिन्न रोगको उपचार तथा शल्यक्रिया सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको छ।