टीकापुर- महिला स्वास्थ्य स्वयंसेविका रञ्जितादेवी टमट्टालाई वडा कार्यालय हिँडेर आउनुपर्दा समय व्यवस्थापन गर्न कठिन हुन्थ्यो। उनको घरबाट वडा कार्यालय तथा स्वास्थ्य संस्था पुग्न आधा घण्टा लाग्थ्यो।
रञ्जितालाई वडा कार्यालयले साइकल वितरण गरेको छ। साइकल पाएपछि उनलाई अब आवतजावतमा सहज हुने बताईन्।
'हामी स्वयंसेविकाका समस्या र माग साना–साना छन्, दिनभरि सामाजिक काममा हिँड्नुपर्छ तर एउटा साइकलको समस्या थियो', रञ्जिताले भनिन्, “सरकारले समयमै बुझेछ। साइकल उपहार दियो। अब हिँडडुल गर्न सजिलो हुने भएको छ।”
स्वयंसेविका सरिता ठकुल्लाको घरबाट स्वास्थ्य संस्था पुग्न एक घण्टा लाग्छ। सरितालाई पनि साइकल पाएपछि अब सजिलो भएको छ। “हामी वडाका हरेक काममा हिँड्नुपर्छ, पैदल हिँडेर सबै भ्याउनुपर्ने समस्या थियो”, सरिताले भनिन्, “नगरपालिकाले साइकल दियो। अब सबै साथीलाई सजिलो हुन्छ। हामीले वडाध्यक्षलाई साइकल चाहियो भनेका थियौँ, व्यवस्था गरिदिनुभएछ।”
नगरपालिकाले वडा नं ८ का १३ महिलालाई साइकल वितरण गरेको छ। साइकल पाएपछि रञ्जिता र सरिता मात्र होइन, झम्टी साउदलगायतका सबै स्वयंसेविका खुशी भएका छन्।
उनीहरुले अझ थप स्वास्थ्य सेवा प्रभावकारी बनाउन काम गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत टीकापुर नगरपालिका–८ ले वडाभित्रका १३ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल पुरस्कार दिएको हो।
वडा कार्यालयले वडामा उत्कृष्ट सेवा दिएवापत दुई महिला स्वास्थ्य स्वयंसेविका मीना टमट्टा र डम्मरा बोहरालाई भित्तेघडीसमेत प्रदान गरेको छ। नगरप्रमुख तपेन्द्रबहादुर रावलले स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउँदै स्वयंसेविकाकै सहयोगका कारण नगरपालिका स्वास्थ्य सेवामा सुदूरपश्चिममै उत्कृष्ट हुन सफल भएको बताए। “हामी यहाँहरुको लगनका कारण सुदूरपश्चिममा उत्कृष्ट भएका हौँ”, नगरप्रमुख रावलले भने, “यहाँहरुले स्वास्थ्य सेवामात्र नभई सामाजिक अभियान, विकासका कार्यमा समाजलाई जागरुक बनाउने काम पनि गर्नुभएको छ।”
उनले आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविकाले उच्च मनोबलका साथ सेवा प्रदान गर्ने वतावरण तयार गर्ने बताए। वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले वडा कार्यालयले स्वयंसेविकालाई प्रोत्साहन गर्ने, उनीहरुका आवश्यकता पूरा गर्ने जिम्मा सरकारको भएकाले आउँदा दिनमा यस्ता कार्यक्रम निरन्तर गरिने बताए। “हामी यहाँहरुलाई खुशी राख्ने प्रयास गर्नेछौँ, सेवा दिने मानिस सधैँ खुशी रहनुपर्छ”, ठकुल्लाले भने, “तपाईँहरुकै कारण महिलाको नेतृत्व र क्षमता विकास भएको छ।” रासस