काठमाडौं- चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा यामबहादुर महत नियुक्त भएका छन्। नवनियुक्त सिइओ महतले आज पदबहाली गरेका छन्।
ॐ अस्पतालकै इतिहासमा पहिलाेपटक सिइओ पदको व्यवस्था गरिएको हो।
नवनियुक्त सिइओ महतकाे पदबहाली कार्यक्रममा अस्पतालका अध्यक्ष उद्धब पाैडेलले अस्पताल चल्नुमा कर्मचारी, सेयर सदस्य र चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी गरी मुख्य तीनवटा समुहकाे आड र भराेसा रहेकाे बताए।
'ॐ अस्पतालका पहिलाे समुह कर्मचारीहरु, दाेस्राे समुह यस संस्थाका शेयरसदस्य र तेस्राे समुह चिकित्सक, नर्सहरु रहेका छन्,' उनले भने, 'यी तिनवटै समुहकाे समिश्रण हुनुहुन्छ, सबैको संयुक्त प्रयासबाट नै याे संस्था अगाडि बढ्न सक्छ।'
कार्यक्रममा नवनियुक्त सिइओ महतले केही समयमा नै अस्पताललाई निजी क्षेत्रबाट सञ्चालित प्रमुख स्वास्थ्य गन्तव्यकाे रुपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
उक्त अवसरमा अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, मेडिकल डाइरेक्टर विश्ननाथ काेईराला र कर्मचारी युनियनका अध्यक्ष केशब चाैलागाँई लगायतले मतव्य राखेका थिए।
त्रिभुवन विश्वविद्यालयबाट बिजनेस डेभलपमेन्टमा स्नातकोत्तर, सिक्किम मनिपाल विश्वविद्यालयबाट एमबिए र पाेखरा विश्वविद्यालयबाट स्नातकोत्तर गरेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत महतले तिलगंगा आँखा अस्पताल, स्टान्डर्ड चार्टर्ड बैंक लगायतका संस्थाका नेतृत्वदायी पदहरुमा रहि सेवा गरिसकेका छन्।