काठमाडौं– नुवाकोटको त्रिशुली अस्पतालमा बुधबारदेखि आइसियु सेवा सुरु भएको छ।
हाइकेयर युनिट र भेन्टिलेटर सहितको १० शय्याको आइसियु सेवा सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दिपेन्द्र पाण्डेले बताए।
डा पाण्डेका अनुसार अस्पतालमा ४ वटा हाइकेयर युनिट,२ वटा भेन्टिलेटर सहित १० शय्याको आइसियु सेवा सुरु भएको हो।
यसअघि विभिन्न रोग तथा संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरुलाई आइसियु नहुँदा काठमाडौं नै रेफर गर्नुपर्ने बाध्यता थियो।
सेवा सुरु भएसँगै गम्भीर प्रकृतिका बिरामीले पनि जिल्लाभित्रै सेवा पाउन सक्ने डा पाण्डेले बताए।
सरकारले कोभिड संक्रमित गम्भीर प्रकृतिका बिरामीलाई लक्षित गरी आइसियु शय्याको अवधारणा ल्याएपनि अस्पतालले सबै प्रकारका गम्भीर बिरामीलाई सेवा दिने लक्ष्य राखेको डा पाण्डेले बताए।
सेवा सुरु भएसँगै बुधबार दुईजना बिरामी आइसियुमा भर्ना समेत भएका छन्।
५० शय्यामा सञ्चालित त्रिशुली अस्पतालमा क्रिटीकल केयरका लागि एनेस्थेसियोलोजिष्ट सहित १० जना विशेषज्ञ चिकित्सक र १२ जना मेडिकल अफिसर सहित २२ रहेका छन्
यस्तै आइसीयु सेवा सञ्चालन गर्नकै लागि अस्पतालले मेडिकल अफिसर र ९ जना नर्सिङ स्टाफलाई समेत विशेष तालिम समेत दिइसकेको डा पाण्डेले बताए। आइसियु वार्ड सञ्चालनका लागि करिब २ करोड खर्च भएको डा पाण्डेको भनाइ छ।
अस्पतालमा आइसियु सेवा सुरु भए पनि औपचारिक उद्घाटन भने आगामी पुस ७ गते बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले गर्ने तय भएको डा पाण्डेले जानकारी दिए।