काठमाडौं- कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले दाँत उपचारमा अत्याधुनिक प्रविधि 'क्याड-क्याम' भित्र्याउने भएको छ। चौधौं वर्षमा वर्षमा प्रवेशका अवसरमा अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डा बुद्धिमान श्रेष्ठले आगामी वर्ष (सन् २०२१)बाट नै यो प्रविधि भित्र्याएर उपचार सुरु गर्ने जानकारी दिएका हुन्। दाँतको फिटिङलगायतमा यो प्रविधि हालसम्मकै अत्याधुनिक मानिन्छ।
यस्तै प्राकृतिक जस्तै दाँत रोप्ने प्रविधि भित्र्याउन लागिएको जानकारी दिएका छन्। दुर्घटनामा परी हुने खुँडेपनको अत्याधुनिक प्रविधिबाट उपचार गर्न ओरल एन्ड म्याक्सिलोफेसियल ट्रमा सेन्टरको सेवा पनि अझै विस्तार गरिने डा श्रेष्ठले जानकारी दिए।
काठमाडौं विश्वविद्यालयबाट सम्बन्धप्राप्त कलेजले हालसम्म २८८ जना ब्याचलर इन डेन्टल सर्जरी (बिडिएस) र १६ जना मास्टर इन डेन्टल सजरी (एमडिएस) चिकित्सक उत्पादन गरेको छ। यस्तै प्राविधिक व्यवसायिक तालिम परिषद (सिटिइभिटी)को सम्बन्धनमा सर्टिफिकेट इन डेन्टल साइन्स तर्फ १०८ जना र डिप्लोमा इन फार्मेसीतर्फ १३५ जना प्रविधिक उत्पादन गरिसकेको समेत अस्पतालले जानकारी दिएको छ।
अस्पतालले हालसम्म एक लाखभन्दा बढी दाँतका बिरामीहरुमा सेवा पुर्याएको समेत बताइएको छ। अस्पतालले १०० शैयाको जनरल हस्पिटल सेन्टर संचालन गर्दै आएको छ। अस्पतालले देशका विभिन्न स्थानमा मुख तथा दन्त स्वास्थ्य शिविरसमेत संचालन गर्दै आएको छ।